यु–१९ टिमले भारतमा तयारी गर्ने अनुमति पाएन

एसिसी यु–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता खेल्न नेपाली युवा टिम सिधैं मलेसिया प्रस्थान गर्ने भएको छ । यसअघि भारतमा १० दिन तयारी गरेपछि मलेसिया जाने योजनामा रहेको नेपाली टिम सिधै मलेसिया प्रस्थान गर्न लागेको हो ।
भारतको बैंग्लोरमा जानका लागि नेपाली टिमले एसियाली क्रिकेट काउन्सिल (एसिसी) सँग अनुमति मागेको थियो । तर एसिसीबाट अनुमति नपाएपछि नेपालको भारत भ्रमण रद्द भएको हो ।
२०७३ बैसाखमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यानलाई) निलम्बन गरेपछि नेपाली क्रिकेटको व्यवस्थापन आइसिसीले हेर्दै आएको छ । नेपाली टिमले तयारी गर्नुअघि आइसिसीको अनुमति लिनका लागि पत्राचार गर्ने गरेको छ ।
‘हामीले अन्तिम तयारी भारतको बैंग्लोरमा गर्ने योजना बनाएका थियौं,’ यु–१९ टिमका प्रशिक्षक विनोदकुमार दासले भने, ‘समय मिल्न नसक्दा भारत भ्रमणका लागि अनुमति पाउन सकेनौ ।’
नेपालले गत बिहीबारदेखि १० दिन भारत भ्रमणमा जानका लागि पत्राचार गरेको थियो । ‘हामीले १० दिनका लागि भारतमा जान एसिसी र बिसीसीआइलाई पत्राचार गरेका थियो,’ एसिसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले भनिन्, ‘तर समय कम भएकाले यसपटक भारत भ्रमण जान पाएनौं ।’
भारत भ्रमणमा जान नपाए पनि नेपालमै राम्रो तयारी गर्ने दासले बताए । ‘भारत भ्रमणमा जान पाएको भए उत्तम हुन्थ्यो । तर केही छैन हामी नेपालमै राम्रो तयारी गर्छौं ।’
प्रतियोगिता यु–१९ एसिया कपको छनोट पनि हो । उपाधि विजेता टिमले एसियाका टेस्ट राष्ट्रले खेल्ने युवा एसिया कप खेल्ने मौका पाउनेछ । प्रशिक्षक दास नेपालको लक्ष्य उपाधि जितेर एसिया कप खेल्ने भएको बताउँछन् ।
एसिसी यु–१९ आगामी असार १७ गतेदेखि २५ गतेसम्म हुँदैछ । प्रतियोगितामा नेपालसहित ८ टिमले भाग लिँदैछन् ।
नेपाल समूह ’ए’ मा परेको छ । नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र सिंगापुर पनि छन् ।
समूह ’बी’ मा मलेसिया, भुटान, हङकङ र थाइल्यान्ड छन् ।
नेपालले पहिलो खेल असा १७ गते म्यानमारसँग खेल्नेछ । नेपालको दोस्रो खेल असार २० मा सिंगापुर र अन्तिम असार २१ जुनमा चीनसँग छ । समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन् ।
यसअघि नेपालले गत बैसाखमा मलेसियामै भएको आइसिसी यु–१९ विश्वकप छनोटमा प्रतिस्पर्धा गरेको थियो ।
युएईविरुद्धको खेलमा १ रनले पराजित हुँदा नेपालको युवा विश्वकप खेल्ने लक्ष्य असफल भएको थियो । खेल वर्षले अवरुद्ध हुँदा युएईले डिएल मेथडमा १ रनले खेले जितेपछि नेपाल स्तब्ध बनेको थियो ।विश्वकप छनोटको तयारी भने नेपालले भारतको आन्द्र प्रदेशमा गरेको थियो ।

तपाईको प्रतिक्रिया