बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्सको म्यानपावर कमी

धरान÷ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्टाफ नर्सको संख्या घट्दै गएर उपचार सेवा नै प्रभावित बन्दै गएको छ । नर्सको अभावले सबैभन्दा बढी असर आकस्मिक कक्ष, आइसियु र डाइलाइसिस सेवामा परेको छ ।
वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ सय बेडको अस्पताल रहँदा कुल ६ सय १ जना स्टाफ नर्सको दरबन्दी थियो अहिले ७ सय ५० भन्दा बढी बेड विस्तार भएको छ । तर दरबन्दी अनुसारको स्टाफ नर्स नहुँदा र नर्सहरुले पनि काम छाड्दै गए पछि उपचारमा नै कठिनाइ भइरहेको छ । प्रतिष्ठानको इर्मेजेन्सीमा क्षमताभन्दा दोब्बर विरामीको चाप हुन्छ । विरामीको अत्यधिक चापले इर्मेजेन्सीमा भुइमा राखेर पनि उपचार गर्नुपर्ने बाध्यता रहेको बीपीका कार्यरत स्टाफ नर्स यमुना लिम्बुले बताउनुभयो ।
गत फागुन महिनासम्म ४ सय २ जना मात्र नर्सहरु कार्यरत रहेको तथ्यांक छ । इर्मेजेन्सी र आइसियुको लागि धेरै नै समस्या भइरहेको छ । मानसिक तनावमा काम गर्नुपर्दा विरामीलाई गुणस्तरीय सेवा प्रवाह प्रभावित छ । प्रतिष्ठानमा ४० वटा वार्ड छ । हाल प्रतिष्ठानमा भएको स्टाफ नर्सको संख्या अनुसार एउटा वार्डमा १० जना मात्र नर्सको संख्या पुग्छ । यो संख्याले इर्मेजेन्सी र आइसियुमा ३ सिफ्टमा चलाउनै नसकिने अवश्था रहेको आकष्मिक कक्षका इन्चार्ज डा. ज्ञानेन्द्र मल्ल बताउनुहुन्छ ।
नर्सको अभावले अस्पताल सेवा नै प्रभावित हुने अवस्था भएपछि नयाँ नियुक्ती प्रक्रिया अघि नबढेको भने होइन । तर, पदाधिकारीबीचको द्वन्द, स्वास्थ्य मन्त्री र उपकुलपतिबीचको मतभेदले नियुक्ती प्रक्रिया बीचैमा रोकिएको छ ।

तपाईको प्रतिक्रिया