पर्यटकीय स्थलको प्रचार प्रसारका लागि पूर्व र पश्चिमका होटल व्यवसायी एक जुट

धरान÷कास्कीको पोखरा महानगरपालिका अन्तर्गत लेखनाथका होटल तथा पर्यटन व्यावसायीको टोली ‘बेगनास’ तालको प्रचारको लागि  धरान आइपुगेका छन् ।
‘गन्तव्य बेगनास’ भन्ने मुल नाराका साथ सोमबार धरान आइपुगेको टोलीले बेगनास र धरानको पर्यटन प्रबद्र्धन गर्ने विषयमा अन्तरक्रिया गरेका छन् । होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा धरानको कञ्चनजंघा होटलमा गरिएको अन्तरक्रियामा बेगनास ताल र धरानको पर्यटन क्षेत्रको प्रबद्र्धनको लागि एक आपसमा सहकार्य गर्न व्यावसायीहरु तयार भएका हुन् । धरान र बेगनासको पर्यटन प्रबद्र्धनको लागि एक आपसमा सहयोगी भुमिका निर्वाह गरेमात्र पर्यटन क्षेत्रमा फड्को मार्न सकिने हुनाले एक आपसमा सहकार्य गर्ने उद्देश्यले धरान आएको होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथका निवर्तमान अध्यक्ष दामोदर भक्त थापाले स्पष्ट पार्नुभयो ।
पर्यटनको क्षेत्रमा धरान बामे सदै गरेको अवस्थामा यस्तो प्रस्ताव आउनु शुखद् भएको पर्यटन विकास समिति धरानकी सदस्य तथा पर्यटनकर्मी एलिना मगरले बताउनुभयो । धरान पर्यटनको सम्भावना बोकेको क्षेत्र भएकोले लेखनाथले महत्व दिएको बताउदै यसले सहकार्य गरेर हिड्ने हौसला मिलेको बताउनुभयो । अन्तरक्रियाको क्रममा लेखनाले पर्यटन प्रबद्र्धनमा एक आपसमा सहयोगी भुमिकाको लागि ६ बुँदे कार्यान्वयन पत्र धरानलाई दिएको छ । कार्यान्वयन पत्र दुबैले एक–एकप्रति लिएका थिए । पत्रमा एक आपसमा अनुभव साटासाट गरी पारस्परीक सम्बन्ध स्थापना गर्ने, हरेक वर्ष एक पटक बेगनास र धरानको पर्यटन प्रबद्र्धनको लागि अध्ययन अवलोकन गर्ने, एक आपसको पर्यटन क्षेत्रको भ्रमण गर्दा १५ प्रतिशत छुटको व्यावस्था गर्ने लगायतको बुँदा समेटिएको छ । यता होटल एसोसिएसन धरानले प्रस्तावना पत्रको स्वागत गदै यसबारेमा संस्थागत रुपमा छलफल गरेर धरानले पनि प्रस्ताव गर्ने प्रतिबद्धता संस्थाका अध्यक्ष मनोहर भट्टराईले गर्नुभयो । लेखनाथको टोली भोली विर्तामोडमा बेगनास तालको प्रचारको लागि जाने होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष कृष्ण प्रसाद तिम्सिनाले जानकारी दिनुभयो । होटल तथा पर्यटन व्यावसायीसंग पनि अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन बोर्ट पोखराका प्रबन्धक सुर्य थपलिया, धरानका पूर्व मेयर तथा होटल व्यावसायी मनोज कुमार मन्याङबोलगायत लेखनाथ र धरानका होटल तथा पर्यटनकर्मीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया