भारतीय राजदूतावास कल्चर सेन्टर र भारतीय संस्कृत मन्त्रालयको संयुक्त आयोजनामा गत हप्ता काठमाण्डौमा सम्पन्न अन्तर्राष्ट्रिय संस्कृत संगोष्ठीमा धरानका विशिष्ट संस्कृत विद्वानहरुको समेत सहभागिता रहेको थियो ।
काठमाण्डौको होटल रेडिसनमा चैत्र ५, ६ र ७ गते तीन दिनसम्म चलेको अन्तर्राष्ट्रिय सँस्कृत संगोष्ठीमा धरानबाट संस्कृत विश्व विद्यालयका पूर्व शिक्षाध्यक्ष पुरुषोत्तम भट्टराई, पिण्डेश्वर विद्यापीठका प्रचार्य प्रा.डा. चन्द्रमणि नेपाल, प्रा.डा. भरत भट्टराई, प्रा.डा. भीम खतिवडा, प्रा.डा. रमेश घिमिरे, भवानी शंकर भट्टराई लगायतको सहभागिता रहेको थियो ।
सँस्कृत नेपाल र भारतको मूल सम्पत्ति भन्ने नारा रहेको उक्त तीनदिने संस्कृत संगोष्ठीमा नेपाल र भारतका गरी ४८ जना संस्कृत विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विभिन्न शीर्षकमा प्रस्तुत गरिएका कार्यपत्र पुस्तकका रुपमा प्रकाशित गरिने भएको छ । नेपालको संस्कृत विश्व विद्यालय, संस्कृत विद्यापीठ र भारतको दिल्ली अकादमी, तिरुपति विश्व विद्यालयलगायतका स्थानका संस्कृतका मुर्धन्य विद्वानहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सहभागी विद्वानहरुले नेपाल र भारतका बीचमा एउटा संस्था स्थापना गर्ने, संस्कृतमा भएका अध्ययन अनुसन्धानलाई प्रकाशनमा ल्याउने, संस्कृतका अध्ययन अनुसन्धानलाई विद्यार्थी, प्राध्यापकहरुका बीचमा लैजाने निष्कर्ष सहित काठमाण्डौ घोषणापत्र समेत जारी गरेको छ । अन्तर्राष्ट्रिय संस्कृत संगोष्ठीको समुद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेति र समापन उपकुलपति प्रा.डा. जगमान गुरुङ्गले गर्नुभएको थियो भने भारतीय राजदूत मन्जिव सिंह पुरीले सहभागी विद्वानहरुलाई सम्मान गर्नु भएको थियो ।
