विराटनगर÷नेपालको पूर्वी सीमावर्ती व्यापारिक नाका विराटनगर जोगबनीस्थित भारत तर्फको एकीकृत भन्सार जाँच चौकी (इन्ट्रिग्रेटेड चेक प्वाइन्ट) को भारतीय गृहमन्त्री राजनाथ सिंहले दिल्लीबाटै उद्घाटन गर्नुभए पश्चात आंशिक रुपमा सञ्चालनमा आएको छ ।
वि.सं. २०६३ साल असार १६ गते नेपालका प्रमुख व्यापारिक नाका विराटनगर, विरगञ्ज, भैरहवा, नेपालगञ्जमा भौतिक योजना मन्त्रालयले एकीकृत जाँचचौकी निर्माणका लागि भारत सरकारसँग सम्झौता गरको थियो । सम्झौता अनुसार भारत सरकारको सहयोगमा एउटै मोडलमा नेपाल र भारत दुवैतर्फ कार्यालय भवन, गोदाम घर तथा सेडहरु निर्माण गर्नुपर्ने हुन्छ ।
सम्झौता बमोजिम नेपाल सरकारले समयमै जग्गा उपलब्ध गराउन नसक्दा विराटनगर महानगरपालिका वडा न. १८ बुधनगर भेडियारीको अन्तर्राष्ट्रियस्तरको संयुक्त भन्सार जाँच चौकीको काम ढिलाई भएको र आगामी जेष्ठ अन्तिम साता सम्ममा सम्पन्न भइसक्ने निर्माण पक्षले जनाएको छ । नेपाल सरकारले २०७३ सालमा मात्र सडकको लागि ४० विघा र जाँचचौकीका लागि १२९ विघा जग्गा उपलब्ध गराएपछि भारतीय पक्षले निर्माणको कामलाई अगाडि बढाएको थियो । नेपाल भारत बीचको सम्झौता अनुसार यस भन्दा अगडि नै अर्थात २०७४ साल चैत्र २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीले संयुक्त रुपमा वीरगञ्जको एकीकृत भन्सार जाँचचौकीको हैदरावाद हाउसमा आयोजित विशेष समारोहबीच उद्घाटन गरेसँगै सञ्चालनमा आएको थियो ।
विराटनगर भारत तर्फको एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएसँगै हाल पेट्रोलियम पदार्थ बोकेर आउने ट्यांकरहरु सोही बाटो हुँदै नेपाल प्रवेश गर्न थालेका छन् । एकीकृत भन्सार जाँचचौकी नहुँदा भारत तथा तेस्रो मुलुकबाट आएका ठूल्ठूला कन्टेनर, मालबाहक सवारी साधन सडकमै पार्किङ्ग गर्नुपर्ने अवस्थाको अब भने अन्त्य हुने भएको विराटनगर भन्सार कार्यालय रानीका भन्सार अधिकृत तथा सूचना अधिकारी मणिराज पौड्यालको कथन छ । हाल नेपालतर्फको इन्ट्रिग्रेटेड चेक व्यान्ट निर्माणको काम धमाधम भइरहेको छ । भारततर्फ निर्माण भएको चेक प्वाइन्ट ६४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमा अत्याधुनिक प्रशासनिक भवन, डिस्पेन्सरी ब्लक, एक्पोर्ट–इम्पोर्ट एरिया, निरीक्षण केन्द्र, पशु क्वारेन्टाइन, कार्गो टर्मिनल भवन, सुरक्षा आवास, चालक विश्राम कक्ष र भ्यूटावर समेत निर्माण गरिएको छ ।
भारतको जोगवनीमा फागुन २२ गते आयोजित कार्यक्रममा विराटनगर रानी भन्सार कार्यालयका प्रमुख हिमांशु अधिकारी, विराटनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी, राजनैतिक दलका नेताहरुको समेत उपस्थिति रहेको थियो । नेपालतर्फको सम्पूर्ण संरचना सहितको इन्ट्रिग्रेटेड चेक प्वाइन्ट भारत सरकारले २ अर्ब ८ करोडको लगानीमा निर्माण गर्दैछ । भारतीय एकीकृत जाँच चौकीका म्यानेजर राकेशकुमार रमणले भारत तर्फबाट औपचारिक रुपमा जाँच चौकी संचालनमा आएको बताउनुभये । यद्यपि नेपालतर्फको जाँचचौकी निर्माण सम्पन्न भएपछि मात्र पूर्ण रुपमा सञ्चालनमा आउने समेत उहाँले बताउनुभयो । हाल दैनिक रुपमा उक्त नाकाबाट ७० वटा पेट्रोलका ट्यांकरहरु नेपालतर्फ प्रवेश गर्न थालेपछि जोगबनी रानी भन्सारमा ट्राफिक जाम कम भएको रानी भन्सार विराटनगरका प्रमुख हिमांशु अधिकारीको कथन छ । नेपाल तर्फको काम अझै २५ प्रतिशत बाँकी रहेको रमणले जानकारी दिनुभयो । चेक प्वाइन्ट निर्माणमा भारतको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोण अमहदावादले सन् २०१६ डिसेम्बरमा १ अर्ब ८३ करोड ३२ लाख ८० हजारमा निर्माणको सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका परियोजना प्रमुख इन्जिनियर अवधेशकुमार साहले नेपाल तर्फको काम चैत्र १५ गतेभित्रमा सिध्याउने लक्ष्यका साथ काम भइरहेको बताए तापनि केही समय अझै बढी लाग्ने बताउनुभयो । दुई बर्षदेखि कामलाई तिब्रता दिएका छौं, उहाँले भन्नुभयो । भौतिक संरचनाको काम सिद्धिएको छ । अब फिनिसिङ्गको काम भइरहेको छ, भवनहरुका झ्याल ढोका लगाउने, मार्वल विछयाउने, रंगरोगन गर्ने काम भइरहेको छ । निर्माणको काम केही ढिलाइ भएको त हैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो यसलाई ढिलाई भएको मान्न सकिदैन । भारतको कोलकत्ता स्थित खगरा पुल भत्केर विटुमिन समयमै ढुवानी गर्न नसक्दा लम्बिएको मात्र हो । उहाँले भन्नुभयो जाँच चौकी भित्रका विद्युत शव स्टेशन निर्माणका लागि ट्रान्सफर्मर, एलटी, एसटी प्यानल, एभिआर आइसकेको र जेनेरेटर आउने क्रममा रहेको समेत साहको कथन थियो । यी सबै काम सँगै फर्निचरको काम मात्र बाँकी रहन्छ । फर्निचको व्यवस्था पछि मात्र भारत सकारले नेपाल सरकारलाई जाँचचौकी औपाचारिकरुपमा हन्तान्तरण गर्ने पनि उहाँले प्रष्ट पार्नुभयो । हाल फर्निचरका लागि टेन्डरको प्रक्रिया अगाडि बढिसकेको र चाँडै नै टुंगो लाग्ने समेत उहाँको कथन थियो ।
