धरान÷धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुर माविले यस बर्षको बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक दुई दुई बर्षमा लगाइने मेला फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको थियो ।
विद्यालय प्रांगरणमा आयोजित बार्षिकोत्सव (मेला) मा विद्यार्थीहरुले १९ वटा स्टलहरु सञ्चालनमा ल्याएका थिए । विद्यालयका को–अर्डिनेटर निमा भुटियाका अनुसार फुट स्टल, म्युजिक डिमान्ड जेल, गेम्स लगायतका स्टलहरु रहेका थिए । प्रत्येक दिन मेला सञ्चालन भएपछि विद्यार्थीहरुले सांगीतिक तथा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने भएकोले मेलामा स्थानीयसँगै धरान, इटहरी,
विराटनगरका विद्यार्थीहरु समेत अवलोकनका लागि आएको कोर्डिनेटर भुटियाले बताउनुभयो ।
विजयपुर माविमा विद्यार्थीहरुले नै सञ्चालन गरेको हेल्पिङ्ग हेण्ड नामको संस्था समेत रहेको छ । हाल सञ्चालनमा रहेको मेलाबाट आर्जित रकम सोही संस्थामा जम्मा हुने र सो रकमबाट सामाजिक कार्य समेत गर्दै आएको विद्यालयका संस्थापक केशव नेपालीले बताउनुभयो । विद्यार्थीहरुको उक्त संस्थाले २०७० सालदेखि नै सामाजिक कार्य गर्दै आएको छ । संस्थामार्फत यस बर्ष धरानका २ जना किड्नीका विरामीहरुलाई १०÷१० हजार सहयोग गरेको थियो भने यस बर्ष राजविराजमा सितलहरबाट पीडितहरुलाई न्यानो कपडा, खाना र औषधि वितरण गरेको थियो । हेल्पिङ्ग हेण्डमार्फत २०७२ सालको महा विनाशकारी भुकम्पमा परि विस्थापित भएर कष्टपूर्ण जीवनयापन गरिरहेका सिन्धुपाल्चोक र काठमाण्डौका पीडितहरुलाई औषधी, लत्ता कपडा, आर्थिक सहयोग समेत प्रदान गरेको थियो ।
उत्सवको प्रमुख उद्देश्य विद्यालय स्तरबाटै विद्यार्थीहरुलाई समाजप्रति उत्तरदायी बनाउनु पनि हो विद्यालयका संस्थापक केशव नेपालीले बताउनुभयो । उहाँका अनुसार प्रविधिको विकाससँगै मानवीय सम्बेदनासमेत हराउदै गएको वर्तमान अवस्थामा हेल्पिङ्ग हेण्ड मार्फत प्राकृतिक प्रकोप, आर्थिक बिपन्नतामा परेकाहरु सम्म पुगेर संस्थामार्फत सहयोग गर्दा भोलिका दिनमा विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्व महसुस हुनसक्ने भएकोेले प्रत्येक दुई दुई बर्षमा यस प्रकारको उत्सवको आयोजना गर्न थालिएको हो ।

