काजी बाजे धमाका
यतिबेला बजाराँ एउटा नयाँ राजनैतिक उपादन बजारमा आएको छ । उत्पादित राजनैतिक धमाकाको नाम काजी बाजे धमाका रै’छ । एकछिन त घण्टाघर पनि अलमलमा प¥यो कस्तो खालको उत्पादन हो त्यो काजी बाजे धमाका ? तर बुझ्दै लैजादा कुरो त गहिरै रै’छ । काजी माने वाल्वाटारे मुखिया र बाजे माने शेखराउ । शेखराउमा यतिखेर पार्टी सभापति बन्ने इच्छा जागेर आएछ । ठाम ठाममा लिडन्ते भाषन भुषन गर्दै हिड्या छ । जहाँ गयो त्यही वाहवाही पाएसी ती अझै हौसिएछन् । अब यो कुरा स्यालबहादुरलाई माने बुढानिलकण्ठे काजीलाई पच्ने कुरै भएन । तिन्ले प्वाक्कै भन्देछन् त्यो शेखराउ ज्यादा बोल्दैछ त्यसको हैसियत के ? ठ्याक्कै शेखराउले नि जवाफ दिइ हालेछन् । म राजनैतिक संस्कारमा हुर्केको हुँ बस । अहिलेलाई यति । शेखराउको झटारो भेट्टाएसी स्यालबहादुर डल्लो परेर ओथारो बस्या छन् रे । अब तिनले कोरल्ने चल्ला १४ औ महाधिवेशनलाई काम लाग्ने अनुमान गर्न थाल्या छन्, सबैले । ती चल्ला बडो उदण्ड स्वभावका हुन्छन्
रे । आखिरी उदण्ड जातका चल्ला कोरल्न र तिन्को स्याहार सुसार गर्न स्यालबहादुर काजी बडो पारखी छन् रे । तर जे होस् काजी वाले उत्पादनले यतिबेला मार्केटचाहिँ राम्रैसँग लिया छ ।
हसाउनुसम्म हसाए वा
हाम्रो देशका पर्धानमन्तरी गोडादशेक दिनसमात्र पनि बोलेनन् भने सबै नेप्लिज जन्ता निराश हुने गर्छन । अर्थोक केही लछारपाटो नलगाए पनि कमसेकम पेट दोब्रिने गरी हसाईद्या छन् । अब हेरम न लोक गायक पशुपति शर्माले लुटन कान्छा लुट गाइदेछन् । पर्धानमन्तरीलाई त्यो पच्ने कुरै भएन । विचराको पेट हुडलिएर झण्डै उत्पादन भएपछि पर्धानमन्तरीको त्यस्तो हालत देखिएसी कार्जेकर्ताको मन कटक्क नखाने त कुरै भएन । फेरि पर्धानमन्तरी खप्रओका कार्जेकर्ताहरु आफ्ना नेताको मलद्वारलाई पनि हरिद्वार देख्छन् । यता कार्जेकर्ताहरु पशुपति शर्मामाथि अरिंगाल जस्तै जाइलागे । एक्लो वृहसपति विचरा के गरुन ? लास्टाँ गीतका शब्दहरु दायाबाया गरेछन् । त्यसपछि त पर्धानमन्तरीको हुडुलिएको पेट एकएक सञ्चो भएछ । गदगद हुँर्दै उन्ले भने पशुपतिको गीतलाई जन्ताले मन पराएनछन् । शब्द परिवर्तन गरेछन् हि..हि..हि..।
सुरक्षे व्यवस्था कडा
जब प¥यो राति अनि बूढी ताती भनेझै यो सरकारको कुरा नि बुझि नसक्नु छ वा † यति बेला राजधानीको सुुरक्षे व्यवस्था कडा पारिएको छ रे । एनसेलका टावरमा बम पड्काएसी सुरक्षे व्यवस्था कडा बनाएर किन जोरीपारीलाई हसाएको होला ? बम पड्काउनुभन्दा अगाडि संगुरले चन्द्रमा हेरेर बसेझै बसेर पनि कही हुन्छ ? अगाडि नै कडा बनाइद्या भए एनसेलका टावर उड्ने नै थिएनन् । हुन त त्यस्ता एनसेलक कैयौ टावर उडाएको अनुभव छ हाम्रा घरेलु मन्तरीमा । हिजो त्यतिविधि उड्दा त केही भएन । एनसेलको नम्बर फिलिलि चलिररहयो अहिले त जाबो गोडा सत्रेक टावर त उड्या छन् नि । राजधानीमै एनसेलका टावर उड्न थालेसी अन्तका टावरको हविगत के होला ? लौन घरेलु मन्तरी यसो जन्तरमन्तर गर्नुप¥यो ।
चेतावनी देछन्
यो मुलुकमा अबचाहिँ केही कुछ होला जस्तो छ । एनसेलका टावर उडाउनेलाई खप्रओका अरिंगाल नेता उर्फ युवा संघका अध्येक्षे रमेश पौड्यालले अस्तिका दिन कडा चेतावनी दे’छन् । कस्ले उडाको हो थर ठेगाना, गोत्र केही थाहा भएर चेतावनी द्या हुन् कि हावामा मटंग्रा हान्या हुन् ? अब अरिंगालले नेताले चोवनी दिएसी एनसेलका टावर अब नउड्ने पक्का भा’छ । घण्टाघरलाई भने युवा संघ होस् कि युवती संघ होस् कसैले दिएको चेताउनी उडाउनेले
सिरोपर गरेर मान्लान् भन्ने कुरामाचाहिँ भुत्लोभाङ्ग विश्वास छैन । उडाउनेका लागि तिन्का चेतावनीलाई पानीमा छाडेको अपानवायुजस्तै हो । कि त एनसेलका टावरमुनी गएर डेरा डण्डा जमाउनुप¥यो । हैन भने पेपर टाइगर बन्नलाई ताइ न तुइको चेतावनीले केही होला जस्तो
छैन ।
विश्व आश्चर्य चकित
हाम्रा पर्धानमन्तरीले अस्ति नै विदेशमा गएर एउटा कुरा बोल्या थे । आफूले गरेको काम देखेर आज विश्वचकित भा’छ । त्यसबेला उन्ले बोल्या कुरालाई सबैले हावामा उडाइदिए । तर तिन्ले कति सत्य बोल्या रै’छने भनेर बल्ल प्रमानित भा’छ । अब हेरम न भारतबाट सरकारले इलेक्ट्री बस ल्यायो । तामझाम गरेर एकदिन दौडायो । पर्धानमन्तरीले गतिलैसँग रिविन पनि टुक्र्याए । अब अहिले आएर ती इलेक्ट्रिक बसलाई मेड इन भारत होइन चाइना बनाउन बडो कसरत भएछ । यसका लागि वाइडबडीमा दह«ै हात चाटेका रविन्द्र अधिकारीले सचिव कृष्णप्रसाद देवकोटालाई आदेश दिएछन् । तर सचिवको मनले ज्यान गए मानेनछ । गधालाई धोएर गाई त बनाउन सकिने कुरै भएन । उन्ले पनि भारतीय गाडीलाई मेड इन चाइना भनेर प्रमाणित गर्नै सकेनछन् । त्यसपछि त सचिव देवकोटालाई लघारिहालेछन् । ती सचिव नि बेकुव नै हुन् । थपक्क प्रमाणित गर्दिया भा’भे लण्ठै साफ हुने थियो । मन्तरीका पनि विश्वास पात्र हुन्थे । आखिरी खप्रओको कामबाट विश्व आश्चर्यचकित भा’कै थियो । आखिरी खप्रओको कामबाट विश्व आश्चर्य चकित भा’कै थियो प्रमानित गर्दिया भे’थप चकित हुने थिए । बुद्धि नपुगेर ।
बडे बडे माला
हिजो आज नेताहरुको गलामा बडे बडे माने ५० केजी ६० केजीका फूलका माला लगाउने प्रचलन नै चल्या छ । जति ठूलो माला भिराउन सक्यो त्यति नै मोगेम्बो खुस हुवा भनेझै नेता खुशी हुन्छन् । अस्तिका दिन लाँग्रेसका मुखिया स्यालबहादुरलाई चैते कार्जेर्काले बडेमानको माला भिराइदिएछन् । विचराको घाँटीको कुर्करे लिचिक्क लच्कियो । पर्धानमन्तरी खप्रओको त झन कुरै नगरम । जहाँ पुगेपनि भाते सँगठनका काजेकर्ताहरुले बडेमानको माला भिराइदिएकै हुन्छन् । अर्का नेक्पाका अध्येक्षे प्रचण्डाउलाई नि त्यसैगरी भिराइदिएछन् । कसैले नि त्यस्ता वडेमानको माला भिर्दिन भन्दैनन् । त्यत्रा माला लगाउनेले देश र जन्ताको लागि योगदन द्या हुनुपर्ने होइन ? खै कसैले योगदान द्या जस्तो घण्टाघरलाई लाग्दैन । माला भिर्नेले पनि भन्नु पर्ने हो भो नलगाउ । तर भन्दैनन् उल्टै घिच्रो थाप्छन् ।
हनुमान धुलाई
नेप्लिज लाँग्रेसको भातृ संगठन नेविसंघका विद्यार्थीहरु लडाकु हुन्छन् भन्ने कुरा सबलाई थाहा छ । मौका पर्दा आफ्नै नेतालाई समेत हनुमान धुलाई गर्छन् । आफ्नो स्वार्थका लागि नेविसंघलाई तहस नहस बनाउने स्यालबहादुरका नन्दीभृंगी विमलेन्द्र निधि र प्रकाशशरण महतलाई विद्यार्थीहरुले अस्तिका दिन दह«ै राजनैतिक संस्कार सिकाइ दिएछन् । ती दुवै स्वघोषित नेताहरुलाई कठालो अँठ्याएर र हल्का फुल्का हनुमान धुलाई दिएछन् । नेविसघ भन्या अरिंगाल हुन भन्ने कुरा ती दुईले भुसुक्कै बिर्सेका रै’छन् । अरिंगाल खनिएर चिल्न थालेसी तिन्ले
प्रहरीसँग हारगुहार मागेछन् । अब आफ्नै कार्जेकर्ता हनुमान धुलाईमा उत्रिन थालेसी’तिनका हैसियत के ? प्रहरीले ती दुवै नन्न्दीभृंगीहरुलाई अंगालो हाले मुखिया माने स्यालबहादुरकहाँ पु¥याएछन् ।
अन्तेमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक इमान्दारी भ्रष्टाचारी हुन भन्ने कुरामा अब दुईमत छैन । त्यस्ता इमान्दारी भ्रष्टका बारेमा जथाभावि बोल्नु, आरोप लगाउनुचाहिँ पापै हो । अरु भ्रष्टहरुले हाक्काहाक्की कार्यालयमै घुसको बार्गेनिङ्ग गर्थे, टेबुलमाथि नै गन्ती गरेर गोजीमा हाल्थे । तर पाठकले त्यसो कहिल्यै गरेनन् उन्ले कार्यालयलाई भ्रष्टाचारमुक्त बनाएका थिए । उन्ले घुस खान बागबजारतरि गोप्य कार्यालय खोलेर त्यहीबाट बजाउँथे । तर कार्यालयमा बसेर कहिल्यै बजाएनन् । यस्ता इमान्दार भ्रष्टाचारी विरलै पाइन्छ । अरुको जस्तो इन्ले नगरेकै कारण ती इमान्दार भ्रष्टाचारीमा दरिएका हुन् । तर इमान्दार भ्रष्टचारीलाइ किन देखि सहन्थे । विचाराई राजीनामा दिन लगाएरै छाडे । बाइडबडी, सुनकाण्ड, मेलम्ची काण्डमा मुछिएकाहरु जस्ता राजनारायण पक्कै होइनन् । कि कसो हौ ?
