धनकुटाको मुलघाट लावरबोटेबाट ताप्लेजुङ्गको फुङलिङ–ओलाङचुङ गोलासम्मको बाटो निर्माण हुँदै ट्रयाकको कामसँगै ओलाङचुङगोला बजार र चीनको तिब्बतको रिउ बजारका व्यापारीको आवतजावत बाक्लियो

धनकुटा÷यतिबेला पूर्वी पहाडमा मध्य पहाडी लोकमार्ग र ताप्लेजुङको ओलाङचुङगोलासम्मको सडकको ट्रयाक खोल्ने काम तिब्र रुपमा अगाडि बढेको छ ।
धनकुटाको मुलघाटस्थित लावरबोटे हुँदैै मध्य पहाडी लोकमार्गको पाँचथर फिदिमको गणेशचौकदेखि चतरा पुलसम्मको १४८ किमी सडकको ट्रयाक खोल्ने काम तिब्ररुपले अगाडि बढेको छ भने पाँचथरको चिवा भन्याङ्ग, भुभाङ्ग खोलाबाट ताप्लेजुङ्ग, ओलाङचुङगोला बजार सम्मको कामसमेत एकसाथ अगाडि बढेको मध्यपहाडी लोकमार्ग आयोजना फिदिमका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनुभएको छ ।
दुवै आयोजना सडक विभाग अन्तर्गतकै भएपनि मध्यपहाडी लोकमार्ग र ओलाङ्गचुङ्गगोला सडकको काम भिन्नाभिन्नै रुपले अगाडि बढेको समेत इन्जिनियर खतिवडाले बताउनुभयो । मध्य पहाडी लोकमार्ग र ओलाङ्गचुङ्गगोला सडकको मिट प्वाइन्ट चिवा भन्ज्याङ्ग गणेशचौक नै हो अर्थात दुवै सडक यहीबाट छुटिन्छ ।
नौ बर्ष अगाडि स्थानीय स्तरबाट तमोर करिडोरको काम अगाडि बढाइएको
थियो । पछि सरकारले राष्ट्रिय योजनामा समेटेर मध्यपहाडी लोकमार्गको कामलाई अगाडि बढाएपछि ट्रयाक खोल्ने काम मध्य पहाडी लोकमार्गको २५ किमी मात्र रहेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. २ मुलघाटको
लावरबोटे हदै पाँचथरको लुम्भुघाट माझीटार हुँदै ताप्लेजुङ्गको फुङलिङ्ग बजारको धुले दोभान भएर चीनको स्वसासित क्षेत्र तिब्बतको सीमा नजिक ओलाङ्गचुङ्गगोला बजारसम्मको ट्रयाक खुल्ने भएपछि स्थानीयहरु खुशी भएका छन् । ट्रयाकको कामसँगै ओलाङ्गचुङ्ग गोला बजारका व्यापारी र चीनको तिब्बत स्थित रिउ बजारका व्यापारीहरुको आवतजावत बढेको स्थानीय पेमा शेर्पाले बताए ।
मध्य पहाडी लोकमार्गलाई ३० महिनाको अवधिमा सिध्याउने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनुभयो । कामलाई तिब्रता दिनका लागि सात खण्डमा छुट्याएर टेन्डर आवहान गरिएको र सबै निर्माण व्यवसायीले प्रतिष्पर्धात्मक रुपमै काम अगाडि बढाएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो धनकुटा, पाँचथर, ताप्लेजुङ्ग तीनै जिल्लाबाट कामलाइ एकसाथ अगाडि बढाइएको छ । २०६५ सालमा धनकुटाका तत्कालीन सांसद हेमराज भण्डारीले सांसद कोषबाट ८ लाख उपब्ध गराएपछि स्थानीयहरुले कुरुले तेनुपा, बुढीमोरङ्ग लावरबोटे सडक उपभोक्ता समिति गठन गरेर अगाडि बढाइएको कामले पूर्वी पहाडी लोकमार्गको खाका कोरेको हो । पछि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सोही सडक खण्डका लागि एक करोड ५० लाख छुट्याएपछि सडक डिभिजन कार्यालय धनकुटाले सडकको विस्तृत सर्भे गरेको थियो । यसपछि उक्त सडकलाई राष्ट्रिय योजनामा समावेश गरी कामलाइ अगाडि बढाइएको थियो । तमोर करिडोर–ओलाङ्गचुङ्गगोलादेखि धनकुटा मुलघाटसम्म १८० किमी र विराटनगरसम्म २८० किमी रहेको छ भने पाँचथरको गणेशचौकदेखि ओलाङ्गचुगोला बजारसम्मको दूरी ३२ किमी रहेको छ ।
मध्य पहाडी लोकमार्ग अन्तर्गतको तमोर करिडोर सडक खण्डमा ट्रयाकसँगै दशवटा साना ठूला पुल समेत निर्माण गर्नुपर्र्ने भएको छ । प्रारम्भमा तमोर करिडोरलाई मुलघाटदेखि ओलाङ्गचुङ्गसम्म जोड्ने योजना भए पनि पछि त्यसलाई विस्तार गरेर अरुण नदीमा पुल निर्माण गरी दूधकोशीको किनारै किनार उदयपुरको घुर्मीसम्म जोड्ने योजना बनाइएको
थियो । तमोर करिडोर ओलाङ्गचुङ्गगोला ट्रयाक खुलेपछि चीनको तिब्बत स्थित रिउ बजार र जोगबनीको दूरी छोटो हुने भएको छ । यी दवै सडकले पूर्वी पहाडका धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्गलाई २० किमीको हाराहारीमा जोड्ने पनि इन्जिनियर खतिवडाले बताउनुभयो ।
तमोर करिडोर ओलाङ्गचुङ्गगोला सडकले तराईसँगको दूरी घटाउने भएको छ । ट्रयाक खुल्न अब ३० प्रतिशत मात्र बाँकी रहेको र यो खुलिसकेपछि पाँचथरको फिदिमबाट एकै दिनमा विराटनगर पुगेर फिदिम फर्कन सक्नेछन् । चीन–भारत जोड्ने छोटो सडकको रुपमा यसलाई लिइएको छ ।
यो सडकले पाँचथरको गणेशचौक, सुभाङ्गखोला, माझीटार, रानीगाउँ, स्यावरुम्बा, आइना, मौवा हुँदै धनकुटा, चौबिसे, मुलघाट, त्रिवेणी हुँदै चतरा पुग्छ । उता अहिले पाँचथर, ताप्लेजुङ्गका स्थानीयहरु तराई झर्न झापाको बाटो प्रयोग गर्न बाध्य छन् । जसको लम्बाई फिदिमदेखि चारआलीसम्म १३९ किमी छ । चारआलीदेखि इटहरीसम्म ८१ किमी रहेको छ । यो दुरी पार गर्न ८ घण्टा लाग्छ तर तमोर करिडोर बनेपछि विराटनगर तीन घण्टामा पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया