धरान÷राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने झापा भद्रपुरको मेची पुलदेखि कञ्चनपुर सम्मको ९७५ किमी लामो हुलाकी राजमार्गको कामले अपेक्षाकृत तिब्रता पाउन नसक्दा आव ०७९÷०८० सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि त्यो पूरा नहुने देखिएको छ ।
हुलाकी राजमार्ग नेपाल भारत सीमाको केही स्थानमा दशगजा नजिक, केही थानमा दुई तीन किमीको दूरी र केही स्थानमा १०–१२ किमीको दूरीमा नेपाली लगानीमा २०६६÷०६७ देखि नै निर्माण शुरु भएको हो ।

देशका विभिन्न ६ स्थानमा योजना कार्यालय स्थापना गरेर केन्द्रकै प्लानिङ्ग अनुसार काम अगाडि बढाइए तापनि अपेक्षाकृत कामले तिब्रता पाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पहिलो खण्डको कामको सुपरभिजन गर्दै आएको छ । कार्यालय प्रमुख विजयकुमार महतोका अनुसार भद्रपुर वडा न ५ मेची पुललाई एलाइनमेन्ट मानेर सप्तरीको बलानसम्मको काम सुपरभिजन गर्ने काम इटहरीले गर्दै आएको छ । झापा, मोरङ्ग, सुनसरी र सप्तरीमा सुपरभिजनको काम भइरहेको महतोले बताउनुभयो । ठेक्का लगाउने, प्लानिङ्ग गर्न काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुलाकी राजमार्ग निर्देशनालयको केन्द्रीय कार्यालयले नै गर्ने गरेको समेत उहाँले बताउनुभयो ।
झापाको भद्रपुरदेखि रतुवा खोलासम्मको ४८ किमी, मोरङ्गको रतुवादेखि केशलियासम्म ४८ किमी, सुनसरीको केशलियादेखि लौकही पूर्व पश्चिम राजमार्ग सम्मको २७ किमी र सप्तरीको कञ्चनपुरको चन्द्रनहर भएर राजविराज २० किमी, राजविराजबाट बलान सम्मको २६ किमी सडकको, पुलको सुपरभिजन इटहरीले गर्दै आएको छ । कार्यालय प्रमुख महतोका अनुसार झापामा हाल २० किमी सडकको ठेक्का लागेको छ भद्रपुरदेखि राजगडसम्मको सडकको मर्मत भइरहेको छ अरु ठेक्काको प्रक्रियामा छ । मोरङ्ग जिल्लामा हालसम्म ठेक्का लाग्न सकेको छैन भने सुनसरीको २६ किमीको ठेक्का लागेर काम भइरहेको छ भने सप्तरीको ४६ किमीको ठेक्का लागिसकेको छ । झापा जिल्लामा हुलाकी राजमार्गमा १३ वटा पुल बन्दैछन् । जसमध्ये सातवटा पुलको निर्माण काम अन्तिम चरणमा पुगेको छ । विरिङ्ग नदी, कन्याई नदीमा पुल बन्दैछ तर त्यो ठेकेदारसँगको शर्त अनुसार दुई बर्षमा पूरा हुन्छ । हुलाकी राजमार्गको काम शुरु हुनुभन्दा अगाडि रतुवा खोलामा सडक विभागले पुल बनाएता पनि पछि खोलाले धार परिवर्तन गर्दा पुल खोलाको बीचमा भयो । अब त्यसको दुवैतिरबाट लम्बाई बढाउनुपर्ने भएको छ ।
यता मोरङ्ग जिल्लामा सडकको ठेक्का नलागे तापनि पुलको ठेक्का लागिसकेको छ । सुनसरीमा रामनगर भुटाहामा रहेको माडिया खोलामा दुई ठाउँमा पुल बनाउनुपर्ने अवस्था छ । सुनसरीमा पुलको संख्या धेरै नभए पनि सप्तरीमा भने १९ वटा पुल बनाउनुपर्ने अवस्था छ । त्यसमा सबैभन्दा ठूलो पुल खाडोमा तीन बर्ष अगाडि बनिसकेको छ भने १३ मध्ये ८ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । हुलाकी
राजमार्ग ३० मिटर चौडाइको हुने छ भने ७ मिटर कालोपत्रे २÷२ मिटर सोल्जर र १ देखि डेढ मिटरको ड्रेन रहने छ । आगामी तीन बर्षमा राजमार्गको काम सिध्याउने भनिए तापनि अर्थ मन्त्रालयले समयमै बजेट निकाशा नगर्दा केही अन्यौलता देखिएको इटहरी निर्देशनालयका प्रमुख विजयकुमार महतो बताउनुहुन्छ । हाल भइरहेको कामको लागि झापादेखि सप्तरी खण्डमा ३८ करोड आएको छ । जुन अपुग पैसा हो । हामीले थप निकासा मागेका छौंै । अर्थ मन्त्रालयमा फाइल गएको छ तर निकासा भएको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मान्त्रालय हुलाकी राजमार्ग निर्देशनालय केन्द्रीय कार्यालयका डिजी अशोक तिवारीसँग यसै सम्बन्धमा सम्पर्क राख्दा उहाँले भन्नुभयो काम विशेषले आफू बाहिर भएकोले थप जानकारी दिन असमर्थ छु । तर निर्देशनालयकै सिडिई महेशकुमार सिंहले हुलाकी राजमार्गमा भारत तथा अन्य देशको लगानी छ छैन भन्ने सवालमा नभएको प्रष्ट पार्नुभयो । तर पूर्व पश्चिम महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग जोड्ने सडकमा भारत सरकारको आठ अर्ब सहयोग रहेको छ, उहाँले भन्नुभयो । यी सडकको निर्माण कार्य पहिला भारतीय ठेकेदारले गरेपनि पछि काम गर्न विविध समस्या भएपछि छोडेर हिडे । हाल नेपाली ठेकेदारले काम गरिरहेका छन् भने त्यसको परमर्शदाता भारतीयहरु नै छन् । रंगेली–कानेपोखरी, वेशनपुर सोहनपट्टी लगायतका नर्थ साउथ सडकको काम हाल यसैगरी अगाडि बढिरहेको सिडिई सिंहले जानकारी दिनुभयो । यद्यपि भारत सरकारको हुलाकी राजमार्गमा समेत कतिपय स्थानमा सहयोग रहेको उहाँले बताउनुभयो । वीरगञ्ज ठोरीको ६० किमी सडकमा भारत सरकारको लगानी छ तर त्यो रकम आठ अर्ब सहयोग मध्येकै हो सिंहको कथन छ । नर्थ साउथ २४५ किमी सडकमा भारतको लगानी छ । नेपालले त्यसरी निर्माण हुने सडकमा खानेपानी पाइप, विजुलीको पोल, साइड क्लियर, मुआब्जा वितरण गरेर उनीहरुलाई काममा सहज गराउँदै आएको पनि सिंहले जानकारी दिनुभयो ।

