धरान÷महिलाहरुका पाठेघरको समस्या विकराल भएको पाइएको छ ।
चिकित्सकहरुले लाज र जनचेतनाको कमीका कारण समस्या भएका महिलाहरु चेकजाचका लागि अस्पताल नगुग्ने गरेका कारण महिलामा हुने पाठेघर सम्बन्धी रोग विकराल बन्दै गएको बताएका छन् ।
धरान १३ अमरहाटमा आयोजना गरिएको पाठेघरसम्बन्धी समस्याको निःशुल्क उपचारमा आएका अधिकांश महिलामा पाठेघरको कुनै न कुनै समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी स्त्रीरोग विशेषज्ञ एवम् सिनियर रेजिमेन्टकी डा. यशस्वी मनेनले शिविरमा चेकजाँचमा आएका अधिकांश महिलामा पाठेघर सम्बन्धी समस्या देखिएको बताउनुभयो । विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा
स्त्रीरोग विभागमा विशेषज्ञ चिकित्सकहरु भएपनि लाजका कारण धेरै महिलाहरु समस्या भए पनि उपचारमा नआउने गरेको पाइएको उहाले बताउनुभयो ।
जानकी सामुदायिक टोल विकास समितिले देउसी खेलेको संकलित रकमबाट धरान १३ को वडा कार्यालयमा आयोजना
गरेको शिविरले विविधि कारणले अस्पतालसम्म पुग्न नसकेका महिलाहरु लाभान्वित भएको शिविरमा उपचारमा आएका महिलाहरुले बताएका छन् । रोग पालेर हिनताबोध बोकेर बसेका महिलाहरुलाई जानकीले गरेको यो शिविरले धेरै फाइदा पुगेको धरान १३ की जानकी चौहानले बताउनुभयो ।
विगतदेखि नै सुरक्षा, स्वास्थ्य र सरसफाइलाई बढी प्राथमिकतामा राखेर काम गर्दै आएको जानकी सामुदायिक टोल सुधार समितिले वडामा महिलाको पाठेघरसम्बन्धी रोगको अवस्था विकराल बन्दै गएपछि स्वास्थ्य शिवरको आयोजना गरिएको समितिका अध्यक्ष दिलिपकुमार श्रेष्ठले बताउनुभयो । उहाले यो बर्ष देउसीबाट संकलित ६० हजारबाट यो शिविर आयोजना गरेको बताउदै यसले धेरै महिलाहरुलाई सहज भएको बताउनुभयो ।
शिविरमा २ सय जना भन्दा बढी महिलाहरुले चेकजाच गराएका थिए । शिविरमा आएमा अधिकांश महिलाहरुको योनीबाट सेतो पानी बग्ने, पिसाव चुहिने ,तथा पाठेघर झर्ने समस्या भएको पाइएको चिकित्सकहरुको भनाई छ । समितिले शिविरमा आएका महिलाहरुलाई चेकजाच मात्र हैन निःशुल्क औषधि समेत वितरण गरेको थियो । समयमै चेकजाच गर्दा निको हुने यो रोग लाज, सचेतनाको कमीका कारण जटिल बन्दै गएको चिकित्सहरु बताउछन् । १३ नंं वडा समितिले संयोजन गरिदिएको शिवर अत्यन्तै लाभदायक भएको शिविरमा आएकाहरुले बताएका छन् । आफ्नो वडामा रहेको समस्याका रुपमा देखा परेको स्वास्थ्य, सुरक्षा र सरसफाइलाई प्राथमितामा राखेर आयोजना गर्ने
गरेको फलदायी कार्यक्रमको अनुशरण अन्य वडा र टोल सुधार समितिले गर्ने हो भने पाठेघरको समस्याबाट महिलाहरुले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था आउने थिएन कि ?

