पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिताको महिला ५५ केजीमा रजनी राईले स्वर्ण जितेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको व्यवस्थापनमा आइतबार भएको प्रतियोगितामा रजनीले ४० केजी भार उचालिन् । ३५ केजी उचालेकी अनु राई दोस्रो र ३० केजी उचालेकी हेमकुमारी राई तेस्रो भए । महिला ५५ केजीमाथि सरिता थुलुङले स्वर्ण जितिन् ।
यसैगरी पुरुष ५४ केजीमा दानबहादुर थिङ, ६५ केजीमा विष्णुपुकार श्रेष्ठ, ७२ केजीमा आशिष मानन्धर र ७२ केजीमाथि राजाराम सिलवालले स्वर्ण जिते । एकदिने प्रतियोगितामा २७ पुरुष र १५ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

