झमक घिमिरेको बायोपिक फिल्मको रिलिज डेट घोषणा

धनकुटा ÷ २०६७ सालमा मदन पुरकार विजेता साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र आगामी चैत्र २२ गतेदेखि नेपालभरका चलचित्र हलमा प्रदर्शनी हुने भएको छ । शनिबार धनकुटामा पत्रकार सम्मेलन गरी आगामी चैत्र २२ गतेदेखि झमकको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ नामक चलचित्र प्रदर्शनी गरिने जानकारी गराइएको हो । देब्रे खुट्टाका तीन औँलाको सहायतामा झमकले करिब डेढ वर्ष लगाएर लेखेको आत्मकथा हो ‘जीवन काँडा कि फूल’। सोही किताबमा आधारित भएर विष्ट ब्रदर्श फिल्म प्रालिले दुई घण्टा ५ मिनेट लामो फिल्म बनाएको चलचित्रका निर्माता निर्देशक विनोद विष्टले बताए । झमकले पुस्तकमा उल्लेख गरेको विषय वस्तुमा आधारित भएर मुक्ति बरालले पटकथा लेखन गरी निर्माण गरिएको फिल्म आगामी चैत्र २२ गतेदेखि नेपालभरका चलचित्र हलमा प्रदर्शन हुने भएको छ । चलचित्रको मुख्य कलाकारहरूमा अवस्था थापा र रोजिता बुद्धचार्य रहेका छन् भने आमाको भूमिकामा उमा गिरी र बुबाको भूमिकामा किसन सुनुवार रहेका छन् । चलचित्रमा झमक घिमिरे स्वयंको भूमिका रहेको फिल्ममा प्रकास सिवाकोटी गीत तथा संगीतमा ४ गीत समावेश गरिएका छन् भने क्यामरामा शिव ढकाल रहेका छन् । प्रदर्शनमा आउनु अघि यसै साता धनकुटामा च्यारिटी शो हुने विष्टले जानकारी दिए । झमकको जीवनको भोगाई संघर्षको चित्रण रहेको फिल्ममा काल्पनिक भन्दा यथार्थता झल्काउन निकै कठिनाई चुनौती भए पनि निर्माण गरी प्रदर्शनका लागि फिल्म वितरक सुनिल मानन्धरलाई जिम्मा दिइएको निर्माता विष्टले बताए । उनका अनुसार झमकको जीवन भोगाइको संघर्षलाई दुरुस्त उतार्न निकै कठिन भए पनि निकै महत्वपूर्ण पाटो रहेको छ । संग्राम, प्रेमप्रतीक्षा र चेलीबेटी बेचविखनसम्बन्धी म कसरी भनुँ भन्ने चर्चित फिल्म बनाएका विष्टले ६५ लाख रुपैयाँको लगानीमा दुईवर्ष लगाएर फिल्म निर्माण गरेको बताए । पत्रकार सम्मेलनमा झमकले आफ्नो जीवनमा आधारित पुस्तक जीवन काँडा कि फूलमा लेखिएको भन्दा आमाको भूमिका अलि कडा आएको भन्दै फिल्म हेर्ने दर्शकलाई चलचित्रलाई चलचित्रकै रूपमा हेरेर मनोरञ्जन लिई प्रतिक्रिया दिन आग्रह गरेकी छन् । यता आमा आशादेवी घिमिरेले आफूलाई आमाको भूमिकामा थोरै चित्त नबुझेको बताइन् । धनकुटा नगरपालिका.६ कचिडेमा जन्मिएकी ३८ वर्षीया झमकका दर्जनौँ पुस्तक पाठक माझ पुगिसकेका छन् । झमक बोली, हात तथा शारीरिक रूपमा अशक्त भएकी उनी कुनै काम गर्न खुट्टाको सहायता लिने गर्छिन् ।

तपाईको प्रतिक्रिया