सर्वा्धिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि ललितपुरले हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका ज्ञानेन्द्र मल्लको नेतृत्व टोली ललितपुर र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच खेल भएको थियो ।
टस हारेर ललितपुरले भैरहवासामू १५६ रन लक्ष्य प्रस्तुत गरेको थियो। तर, भैरहवा १४१ रन बनाएर अलआउट भयो ।
भैरहवाका लागि ओपनर प्रदीप ऐरीले २२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । रविइन्दर सिंहले ३२ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २९ रन बनाए । मोहम्मद नविदले १० रन बनाउन सके ।
शरद भेषवाकर र रायन टेन डेस्काटेले समान १४ रन बनाउँदा आरिफ शेखले १२ रन बटुले। यस्तै, कुशल मल्लले नटआउट हुँदै १६ रन बनाउन सफल भए । ललितपुरको जितमा पवन सर्राफ र ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरे ।
यसअघि ललितपुरका जयकिशन कोसवालाले अर्धशतकीय पारी खेले। उनले ३ चौका र ३ छक्काको मद्दतले ५२ बलमा ५७ रन जोडेका थिए।सन्दीप जोराले २४ रनको योगदान गरे भने गौरव तोमारले २३ रन जोडे । उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
१९.१ ओभरमा सबै विकेट गुमाएर ललितपुर १ सय ५५ रनमा समेटिएको थियो ।
यस्तै, प्लेयर अफ दि म्याचको उपाधि ललित राजवंशीले पाएका छन् भने प्लेयर अफ द सिरिजको उपाधि रविइन्दर सिंहले पाएका छन् ।
