नेपालमा व्यवस्था परिवर्तन भयो तर सत्तामा आसिन नेताहरुको मानसिकता परिवर्तन भएन । पञ्चायत र गणतन्त्र पूर्वको अवस्था जस्तो थियो आज झन विकृत बनेको प्रति आम सर्वसाधारण नेपालीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
हरेक देशको आफनै एउटा मौलिक राष्ट्रिय पर्व हुन्छ । दशै नेपालको राष्ट्रिय पर्व हो । अपवाद र दिग्भ्रमित गरिएकाहरुबाहेक हरेक समुदायले दशैलाई विशेष पर्वको रुपमा मान्दै आएका छन् र मनाउँछन् । विगतका दशैको तुलनामा यस बर्षको दशैमा कार्यकारी प्रधानमन्त्रीको महत्वाकांक्षा, सेरिेमोनियल राष्ट्रपतिको महत्वाकाँंक्षा आम नागरिकका लागि हाँस्यास्पद भएको छ ।
विगतका राजा महाराजाकै हाउभाउमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले दशै टीका लगाउने फर्मान जारी गरे । विगतमा राजाहरुले आफ्ना नागरिकलाइ टीका लगाइदिँदा, सवारीका नाममा सडक खाली गरिदा सबैभन्दा बढी विरोध गर्ने नेपालमा कम्युनिस्टहरु नै थिए । तर आज यी दुवै काम यिन्ले निर्लज्जतापूर्वक गरिरहेका छन् । राजाले गर्ने काम नै यिनले गर्ने हो भने राजा हँटाउनुको औचित्य के थियो ? राजालाई सम्पूर्ण नागरिकले अभिभावक मान्थे, राजालाई राष्ट्रिय एकताको सुत्रधार मान्थे । जसका कारण दशै मान्ने र धार्मिक आस्थाका आधारमा दशै नमान्ने समुदाय पनि राजाको हातबाट टीका लगाउन पुग्थे । राजाको हातबाट टीका लगाउन फर्मान जारी गरिनु पर्दैनथियो । स्वस्फूर्त रुपमा नागरिक पुग्थे ।
तर प्रधानमन्त्री र राष्ट्रपतिलाई नेपाली नागरिकले न अभिभावक मानेका छन् न राष्ट्रिय एकताको सुत्रधार मानेका छन् । फेरि यी दुवै कम्युनिस्ट धारबाट एउटा निश्चित अवधिका लागि सत्तामा पुगेका मात्र हुन् । धर्मलाई अफिम मान्ने कम्युनिस्टहरुले धार्मिक भावनाबाट ओतप्रोत भएको एउटा पर्वमा टीका लगाइदिनु त्यसै पनि हाँस्यास्पद हुँदै हो । राजाको समयमा नागरिकहरुले जुन अमनचयन, शान्ति
सुरक्षा, न्याय पाएका थिए वर्तमान प्रधानमन्त्रीले टीका लाउने नाटकको मञ्चन गर्नुको सट्टा ती कुराहरुमात्र पूरा गरिदिए हुन्थ्यो ।भन्ने नागरिकको चाहना छ । तर हाल मुलुकमा असुरक्षा, भ्रष्टाचार बेतिथि मौलाएको छ र यी सबै कारकको संरक्षक सत्तासीनहरु नै भएका छन् । प्रधानमन्त्री र राट्रपतिले आयोजना गरेको टीका कार्यक्रममा अवसरवादी, भ्रष्ट, सरकारी कर्मचारी र केही प्रहरीमात्र देखियो तर त्यहाँ सर्वसाधारण नगामरिकको उपस्थिति शून्य देखियो । अवसरवादी र भ्रष्टहरु त सदैव बलेको आगो ताप्ने मात्र हुन् ।
उता पूर्व राजा ज्ञानेन्द्र शाहले आयोजना गरेको टीका कार्यक्रमको रौनकै बेग्लै थियो । तराईदेखि पहाड, हिमालसम्मका सर्वसाधारण नागरिकहरु पूर्व राजाको हातबाट टीका थाप्नकै लागि घण्टौ लाइनमा उत्साहका साथ उभिएका थिए । त्यहाँ आएकाहरुमा राजाप्रतिको एउटा गहिरो सद्भाव थिथो । उमंग थियो । शक्तिहीन भएका राजाका सामू मुलुकको वास्तविक अवस्थासँगै आफ्ना चाहनाहरु प्रकट गरिरहेका थिए । त्यहाँ हरेक सम्प्रदाय र जातका मानिसहरु आएका थिए । निधारमा रातो टिका कहिल्यै नलगाउने मुस्लिम समुदाय, क्रिश्चियन समुदाय, दशै बहिष्कारको नारा लगाउने जनजातिहरु पनि पूर्व राजा ज्ञानेन्द्र हातबाट टीका थाप्न पुगेका थिए । प्रधानमन्त्री र राष्ट्रपतिकोमा भन्दा पूर्व राजाकोमा टीका लगाउनेहरुको संख्या कैयौ गुण ठूलो थियो । यसबाट के प्रष्ट हुन्छ भने नागरिकहरुमा वास्तवमै गणतन्त्रप्रति वितृष्णा जानेको छ । राजा र राजसंस्थाप्रतिको क्रेज बढ्दै गएको छ । यसो हुनुको प्रमुख कारण सत्तासीन, दलका नेताहरु नै हुन् । प्रधानमन्त्री राष्ट्रपतिको दशै टीका मोह वयिहातमात्र हो ।
