जनकपुर÷भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले भारत नेपालको विकास र समृद्धिका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पेट्रोलियम मन्त्री प्रधानले रक्सौल अमलेखगञ्ज निर्माणाधीन पाइप लाइनको शनिवार निरीक्षण पश्चात
जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रक्सौल अमलेखगञ्ज ७२ किमी पेट्रोलियम पाइपलाइन निरीक्षणका क्रममा नेपालका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत, नेपाल आयल निगमका पदाधिकारी, इन्डियन आयल कर्पोरेशनका पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।
पेट्रोलियम पाइप लाइनको निरीक्षण पश्चात जनकपुर पुग्नु भएका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभयो नेपालको विकासका लागि भारतको साथ हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ । उहाँले भन्नुभयो नेपाल र भारत त्यस्ता देश हुन जुन देशबीचको विशेष सम्बन्ध संसारका अन्य कुनै पनि देशबीचमा छैन । साँस्कृतिक सम्बन्धका सम्बन्धमा जोड दिँदै उहाँले भन्नुभयो पूजा विधि, आचरण, परम्परा, खानपान सबै कुरामा समानता छ । उहाँले युवाहरुका लागि धनुषा धाममा कौशल प्रशिक्षण स्कुल खोलिदिने घोषणा समेत गर्नुभयो । कौशल प्रशिक्षण स्कुल अर्थात स्किल ट्रेनिङ्ग स्कुलले नेपालका युवाहरुलाई समय सापेक्ष प्राविधिक शिक्षा प्रदान गर्नेछ, प्रधानले भन्नुभयो ।
आफ्नो संक्षिप्त सम्बोधन पश्चात पेट्रोलियम मन्त्री प्रधानले जानकी मन्दिरको विशेष पूजा अर्चना गर्नुभएको थियो उहाँले भन्नुभयो, माता जानकी सबैकी आमा हुन् । सीता स्वयमबरका समयमा रामले जुन धनुष तोडेका थिए त्यसको मध्यभाग जनकपुरमा आएर बसेको मान्यता रहेको छ । जानकी मन्दिरको पूजा अर्चना पश्चात मन्त्री प्रधानले प्रदेश नं २ का मुख्यमन्त्री राउतसँग भेटवार्ता गर्नुभएको थियो ।
