घण्टाघरबाट हेर्दा

खुट्टे लगाएर दुहुने रे
हाम्रा अरथमन्त्री जुवराज खतौडाले अस्तिका दिन बडो गहकिलो कुरा गरे । उन्का कुरा सुनेसी’ घण्टाघर पनि कम्ता गदगद भा’छैन । आखिरी अरथ मन्तरी पो हुन त ? उन्ले अगतिला कुरा गर्नै सक्दैनन् । अब
हेरम न वामपन्थी सरकारलाई समृद्धिशाली बनाउने अभिभारा खतौडा बाजेको काँधमा छ । मन्त्री नि उनेरले नै पटक्क पिटेर थपक्क बनाइद्या हुन् । अनि आफूलाई दिएको अभिभारा पूरा गर्नु परेन त ? खतौडाले जन्तालाई समृद्धि बनाउने भनेकै छैनन् । वामपन्थी सरकारलाई समृद्ध बनाउने भन्या छन् । यसका लागि कर त उठाउँनै प¥यो ? त्यसैले अहिले मरेको दर्ता गर्दा नि
कर, बाँचेको दर्ता गर्दा नि कर, कुखुराका चल्लामा पनि कर, धरौटी लाग्या बाखं्राको पाठालाई नि कर, खुट्टा ठोक्किएर हिड्नै नसक्ने थला परेको बुढी माउ भैसीको पनि कर, आफ्नै घरको कोठाको नि कर, माने कर नलाग्ने वस्तु नै भेटिन छाड्या छ । जोसुकैले जस्तोसुकै विरोध गरुन खतौडा बाजे कर असुलेरै छाड्ने मनस्थितिमा पुग्या छन् । जन्तालाई खुट्टे लगाएर भए नि कर असुलेरै छाड्ने रे । जे होस हामा अरथ मन्तरीलाई मान्नै पर्छ ।
नानी भन्दा आची ठूलो
हामा गामघरतिर बुढापाकाहरुले कहिलेकाँही भन्थे नि नानी भन्दा आची ठूलो । बुढाहरुले के भन्या होला भनेर बुझ्नै गाह«ो । तर अहिले आएर घण्टाघरको घैँटामा अलिअलि घाम लाग्न थाल्या
छ । कुरा के भने प्रदेश नं. १ का मुख्ये मन्तरीले ३९ करोडको गाडी किन्न लाग्या छन् रे । आफना लागि मात्र दुई
करोकोको गाडी रे । अरु अरु मन्तरीका लागि पनि करोड भन्दा बढीका गाडी खरिद गर्ने रे । किन , अल्फाको धन फूपूको श्राद्ध । काम पनि छैन काज पनि छैन खाने बेलामा लाज पनि छैन भन्या यही हो । बेकामे प्रदेश सरकार र मुख्ये मन्तरीलाई किन चाहियो त्यति विधि महँगा गाडी हँ ? जन्ताको गाँसबाट कर उठाएर घ्याम्पे भुँडी ढल्काउन गाडी चाहिया त होला नि । केन्द्र र स्थानीय निकायले जम्मै काम गरिहाल्छन् बीचका पेन्डुलम प्रदेश सरकारलाई त्यति विधि महँगा गाडी किन चाहियो । चाहिया पनि होला † जन्ताले बाख्राको खोर, ट्वाइलेट, हाट बजार उद्घाटन गर्न बोलाउँछन् । त्यत्रो मुख्ये मन्त्री भएसी’ जोरीपारीलाई देखाउन पनि टिलिक्क प¥या च्वाँक च्वाँक गाडी चाहिएन त ?
जसरी भए पनि पैसो चाहियो
हाम्रा पर्धानमन्तरी खप्रओलाई हिजो आज सबैले करप्रसाद भनेर सक्तो सराफ गर्दै धारे हात लगाउन थाल्या छन् । खप्रओ जस्ता मान्छे जसले यो देशाँ चाँडै नै पानी जहाज कुदाउँदै छन्, पूर्व देखि पश्चिमसम्म रेल दौडाउँदैछन्, घर घरमा ग्याँसका पाइप हुल्दिदै छन् हावाबाट विद्युत निकाल्दिैछन् । यस्ता मान्छेलाई नि त्यसरी सक्तो सराप त गर्नु भएन नि । सडक बिग्रियोस् कि खाल्डा परेस, तुइनबाट विद्यार्थी खोलामा बगुन कि जे सुकै हुन्, पहिरोले जोसुकैलाई पुरोस् कि सोहोरोस् हाम्रा पर्धानमन्ती वास्तै गर्नु हुन्न । त्यत्रो काम गर्न लाग्या मान्छेलाई झिना मसिना कुरामा अल्झेर बस्ने फुर्सदै छैन अनि हुनु पनि हुँदैन । अनि त्यत्रा ठूला काम गर्नका लागि पैसो चाहिन्छ । सिंहदरबारभित्र भएका बोटमा पैसा फल्दैन । पैसा वटुल्ने त उही जन्ताबाटै हो । जन्ता पनि साह«ै हुस्सु छन् । त्यत्रो महान कार्य गर्न लाग्या मान्छेले भन्या थप थप मान्नु पर्दैन ? खुरु खुरु खप्रओले भने अनुसार थप थप कर दिनु नि, बातै खलास ।
बर्सेला र खँम्ला
जन्ताका लागि यतिबेला संघीयता गलपासो भा’छ । संघीयता भएसी के के न झर्ला झै ग¥या थे । अहिलेचाहिँ खप्पराँ हात लगाएर चिच्याउन थाल्या छन् । के भयो मंगले आÏनै ढंगले भन्या यही हो । अब हेरम न हाम्लाई संघीयता चाहियो भनेर हिजो ख्याल काइदाले ढोल झ्याम्टा बजाएर सडकमा उफ्रिया थेनन्, अब संघीयता आयो तै पनि यिनेरु माने जन्ता उफ्रन छाड्या छैनन् । हिजो चाहियो भन्थे अहिले चाहिएन खारेज गर भन्छन् । संघीयता आएसी’ आकाशबाट बर्रर्र बर्रर्र बर्सेला र खाम्ला भनेर कम्ता खुशी भा’थेनन् । अहिले बर्सनु त परै जाओस् करङ्गै भाँचिने गरेर कर तिर्नु परेसी’ अहिले खप्पराँ हात लगाएर के गर्नु ?
जताबाट नि गरिबको दोहोलो
अर्थोक कुराको रकेर्ड ब्रेक नगरे नि खप्रओको सरकारले कर असुल्ने मामलामा चाहिँ रेकर्ड ब्रेक गर्ने निश्चित भएको छ । हिजोका सरकारहरु झिना मसिना कुरा देख्दै देख्दैनन् थिए । अब अहिलेको
सरकार मसिना मसिना कुरामा नि ध्यान दिन थाल्या छन् । शायद यो समृद्धिको संकेत होला, तर घण्टाघरलाई एउटा
कुरामा ठ्याक्कै चित्त बुझेको छैन ।
सरकारले खोरभित्रका कुखुरा, परेवाका लागि छोरी चेलीले घरमा पालेका खसी बोका, हाँस परेवामा पनि कर लगाउन थालेछ । तर सभ्रान्त परिवारले हजारौ रुपैयाँमा कुकुरका छाउसा खरिद गरेर लाखौ रुपैयाँका महँगो खानेकुरा खुवाउँछन् । महँगा डाक्टरी उपचार गराउँछन् तर
सरकारले त्यस्ता कुकुरमा आँखा पु¥याउनै सक्या छैन । वा बुझ पचाएको हो कि ? त्यसैले घण्टाघर सर्कारलाई सुझाउ के दिन्छ भने खसी बोका होस् कुरामा कर असुल्ने हैन कुकुरबाट कर असुल्दा अझ राजस्व बढ्ने थियो ।
कर विरुद्ध आन्दोलन
विपक्षी भन्या के निहुँ पाउ कनिका बुक्याउँ भन्ने जात न हो । अब यतिबेला खप्रओको सरकारले टन्न कर बढाइदिएसी नेप्लिज काँग्रेसकले कर विरुद्ध आन्दोलन शुरु ग¥या छ । काँग्रेसको आन्दोलनले पर्धानमन्तरी खप्रओ साह«ै हच्केलान् जस्तो छैन । गोडा पचासेक जना भेला भएर हल्का फुल्का नारा लगाएर हावा न चावाको भाषन ठोक्दैमा दुई तिहाई वहुमतका खप्रओ के हल्लन्थे ? आन्दोलन नै गर्ने भए तोडफोड, चक्काजाम, आगजनी, ढुंगामुढा गर्नैपर्छ । आन्दोलनलाई उत्कर्षमा पु¥याउने सुत्र नै यही हो । अब काँग्रेस लाठ साहेव पल्टिए झै गोडा पचासेक जना भेला भएर छाता ओढेर आन्दोलन गर्छ । हैन हो त्यत्रो पुरानो, सात सालदेखि लड्दै आएको पार्टीले आन्दोलनको सुत्र सबै बिर्सिया हो कि क्या हो । कि हामी आन्दोलन गरेजस्तै गर्छम तिमीहरु कर उठाइराख भनेर खप्रओको सरकारसँग भित्री सम्झौता भा’ छ कि क्या हो । घण्टाघरलाई त शंका लागेर आ’छ ।
अर्धनग्न जुलुस
यो मुलुकाँ अब उल्कापातै हुन लाग्यो । मान्छेहरु अति भएसी विरोधमा उत्रने त हुन नि † अब हेरम न अस्तिका दिन माइतिघर मण्डलामा महिलाहरुले पेटीकोट मात्र लगाएर माने अर्धनग्न भएर बलात्कारीलाई फाँसी दे भन्दै नारा जुलुस गरेछन् । एक दिन यस्तै देख्नुपर्ला भने हाम्रा चतुर पर्धानमन्तरी खप्रओले माइतिघर मण्डललाई निषेधित क्षेत्र घोषना ग¥या थे । तर के गर्नु अदालतले उल्ट्याइ दियो । हुन त अर्धनग्न जुलुस गर्ने महिलाहरुले ठीकै भन्या हुन् ।
बलात्कारीलाई फाँसीको कानुन बनाइदिदा खप्रओको के जान्छ ? आन्दोलन गर्नेहरुले बलात्कारीलाई फूलमाला लगाइ दे त भन्या थेनन् ?
अन्तेमा
नेप्लिज काँग्रेसले स्थानीय निकायमा जितेका ठाउँमा कर बृद्धि नगर्न सर्कुलर जारी गर्ने रे ? काँग्रेसले मात्र बृद्धि नगेर फुइøया हुन्छ ? फेरि काँग्रेसले कति नै ठाउँमा जित्या छ र ? यस्ता महँगीमा कर बृद्धि नगरे, विकास चाहिँ के देउवाले गर्ने होला ? विकास नगरे अर्को पटक देखि त जित्या ठामबाट पनि काँग्रेस चिलिम होला भन्ने अर्को त्रास । यसो जितेका प्रतिनिधिहरुले बेलुका जाँड पानी धोक्नै प¥यो, वल्लो र पल्लो स्थानीय निकायका जन प्रतिनिधि सर्रर्र मोटरमा हुइँकिदा आफूचाहिँ साइकलमा दौडिने कुरै भएन । यो करको कुरा त झन झन गहिरो हुँदै जाला जस्तो पो छ ।

तपाईको प्रतिक्रिया