नेपालको हितमा भारत सरकारको अर्को सकरात्मक कार्य

नेपालको शिक्षा, स्वास्थ्य, सडक, सिँचाई, विद्युत, खानेपानीमा भारत सरकारले दर्जनौ आयोजाहरुमा खरबौ रकम बराबरको सहयोग गर्दै आएको छ । पछिल्लो पटक अब नेपालका नम्बर प्लेटका गाडीहरु भारतका जुनसुकै सहर तथा गाउँमा जान पाउने सहमति समेत भएको छ ।
नेपाली नम्बर प्लेटका गाडीहरु यसभन्दा अगाडि लामो र झन्झटिलो प्रक्रिया पूरा गरेपछि तोकिएको स्थानसम्म मात्र निश्चित समयका लागि आउजाउ गर्न पाउने प्रावधान रहेको थियो । अब यस्तो प्रावधान पुरै हँटेको छ । अर्थात भारतमा अब नेपाली नम्बर प्लेटका गाडीहरुले निर्वाध आउजाउ गर्न पाउने भएका छन् ।
साउन ४ गते शुक्रबार नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतको सडक परिवहन तथा
राजमार्ग मन्त्रालयका सह सचिव स्तरको दिल्लीमा भएको बैठकले नपाली नम्बर प्लेटका गाडीलाई भारत प्रवेश र आवागमनमा भारतीय पक्षले सहमति जनाएको हो । वि.सं. २०७० अर्थात सन् २०१४ मा भएको नेपाल भारत मोटर भेइकल सम्झैता अन्तर्गत संयुक्त कार्य समूहको बैठकमा त्यस्तो प्रकारको सहमति जुटेको हो । बैठकको सबैभन्दा सकारात्मक पक्ष के रहेको थियो भने नेपाली नम्बर प्लेटका सवारी साधनलाई भारतमा भारतीय सवारी साधनले पाएजस्तै सुविधा उपलब्ध गराउन तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति समेत भएको छ ।
वार्तामा नेपाली पक्षको नेतृत्व गर्नु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले भन्नुभयो, भारतबाट यस्तो सुविधा पाउनु नेपाल र नेपालीका लागि ठूलो उपलब्धी हो । उहाँले भन्नुभयो यस भन्दा अगाडि नेपाली नम्बर प्लेटका सवारी साधनले
भारत प्रवेशका लागि अलिकति र केही प्रक्रिया पुरा गर्नै पर्दथ्यो । अब त्यस्तो अवस्थाको अन्त्य भएको छ । तर भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा भन्सार विन्दुमै सामान्य प्रक्रिया पूरा गर्दा हुन्थ्यो । भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा पाएको जस्तो सुविधा उपलब्ध गराउन भारतीय पक्षसँग नेपाली पक्षले माग गर्दै आएको थियो । उहाँले भन्नुभयो भारतीय पक्षले नेपाल प्रवेश गर्दा अनुमतिका लागि भन्सारमा न्यूनतम शुल्क र सामान्य प्रक्रिया पूरा गर्दा हुन्थ्यो । अब नेपाली पक्षले पनि त्यही सुविधा पाउँछन् । भारतीय पक्षले त्यसरी भन्सारमा न्यूनतम रकम बुझाएर सामान्य प्रक्रिया पूरा गर्दा त्यस्ता गाडीहरु नेपालका जुनसुकै ठाउँमा पनि निर्वाध गुड्न पाउँदै आएका थिए तर नपालीपक्षले त्यस्तो सुविधा पाएका थिएनन् । नेपाली नम्बर प्लेटका सवारी साधनहरु भारतीय भूमिमा प्रवेश गर्नु अगाडि लामो र झन्झटिलो प्रक्रिया पूरा गर्दै आएका थिए ।
भारत प्रवेश गर्नुभन्दा अगाडि नेपाली सवारी साधनहरुले भारतीय
राजदुतावास काठमाण्डौ, वीरगञ्जस्थित महावाणिज्य दुतावासको कार्यालय,
विराटनगरस्थित भारतीय दुतावास क्याम्प अफिसबाट पूर्व अनुमति लिनुपर्ने हुन्थ्यो । दुई देशका सह सचिव स्तरमा भएको बैठकले अब यस्ता लामो र झन्झटिलो प्रक्रियालाई हटाएको छ । जसका कारण नेपाली पक्षले लामो समयदेखि भारतीय पक्षसँग भारतीय सवारी साधनले जस्तै पारस्परिक हिसाबले सुविधा उपलब्ध गराउन भारतीय पक्षँग माग गर्दै आएको थियो ।
बैठकले यो महत्वपूर्ण निर्णयका अलावा नेपाल र भारतबीच हाल सञ्चालनमा रहेका अन्तरदेशीय बस सेवा अन्तर्गत जनकपुर–अयोध्या रुटलाई औपचारिकरुपले समावेश गर्ने निर्णय समेत गरेको छ । गत जेठमा दुई दिने नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द मोदीको भ्रमणका अवसरमा दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा हल्लाएर उक्त बस सेवाको सुभारम्भ गर्नु भएको थियो । उद्घाटन भएको यत्तिका दिन बितिसक्दा पनि उक्त रुटले हालसम्म औपचारिकता नपाएका कारण उक्त रुट उद्घाटनमै सीमित रहेको थियो । जनकपुर लगायत तराईका अधिकांश बासिन्दाले जनकपुर अयोध्या रुटलाई सञ्चालनमा ल्याउन माग गर्दै आएका थिए । यता टोलीका संयोजक तथा सहसचिव केशवकुमार शर्माले भन्नुभयो हाल सञ्चालनमा ६ वटा अन्तरदेशीय बस सेवाका रुटमा जनकपुर अयोध्यालाई समावेश गर्ने निर्णय भएको छ । यसका अलावा हाल सञ्चालनमा रहेका रुटलाई थप व्यवस्थित र सहज बनाउन विविध सम्भावना माथि छलफल भएको थियो । बैठक नेपाली नम्बर प्लेटका सवारी साधनलाई निर्वाध भारतमा प्रवेशको सहमति भएसँगै अन्तरदेशीय बस सेवालाई थप सहज र सरलीकृत गर्ने कुरामा केन्द्रित रहयो, संयोजक शर्माले भन्नुभयो ।
दिल्लीमा सम्पन्न दुई दिन सम्म चलेको बैठकमा भारतीय पक्षको नेतृत्व सडक पारवहन तथा राजमार्ग मन्त्रालयको सह सचिव लिना नन्दनले गरेकी थिइन् । यस भन्दा अगाडि कार्यदलको दोस्रो बैठक काठमाण्डौमा भएको थियो । काठमाण्डौमा भएको दोस्रो बैठकले नेपाली पक्षले नेपाली नम्बर प्लेटका सम्बन्धमा राखेको चासोलाई भारतीय पक्षले नोट गरी तेस्रो बैठकमा छलफल गर्ने जनाएको थियो । दोस्रो बैठकको संयोजक पनि सहसचिव शर्मा नै रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया