इनरुवा÷सुनसरीको कोशी कटान क्षेत्रमा सोमबार राति भारतीय नम्बरको बोलेरो भ्यान दुर्घटनाग्रस्त हुँदा ६ जनाको ज्यान गएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले दिनु भएको जानकारी अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विआर ०६ पिवी ६४१८ नम्बरको बोलेरो भ्यान सप्तकोशी कटान क्षेत्रमा दुर्घटना हुँदा भ्यानमा सवार भारत मधुवनी घोगनिया पञ्चायत १ बस्ने बर्ष ४० को संजिवकुमार पोद्धार, भारत सुपौल जिल्ला पर्सामाडो ६ बस्ने बर्ष ५ को गोलुकुमार राय, सोही स्थान बस्ने बर्ष ३० की कञ्चनदेवी राय रहेका छन् । दुर्घटनाबाट उद्धार गरी उपचारार्थ इनरुवा अस्पताल ल्याउदै गरेका भारत सुपौल जिल्ला पर्सामाडो ६ बस्ने बर्ष ३६ को सुरेन्द्रकुमार सुमन, सोही ठाउँ बस्ने बर्ष ३० को धिरेन्द्रकुमार राय, बर्ष ६० का ललिया देवी रायको बाटैमा मृत्यु भएको थियो भने सवारी चालक जिल्ला मधुवनी पंचायत १ बथनाहा बस्ने बर्ष २६ का सुशिल कामत सामान्य घाइते भएकोले सामान्य उपचार पश्चात जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । अन्य घाइतेहरुमा भारत सुपौल जिल्ला पर्सामाडो ६ बस्ने १० बर्षका आदित्यकुमार राय, सोही ठाउँका बर्ष ५० का निलुदेवी पोद्धार, बर्ष ३५ का ललनकुमार राय रहेका छन् ।
भ्यानमा सवार सबै भारत सुपौलका एकै ठाउँका दुई परिवारका रहेको र उनीहरु धनकुटास्थित नमस्ते झरना भ्रमणमा आएको एसपी अधिकारीले प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो । तर नमस्ते झरनामा केही दिन अगाडि भएको दुर्घनामा एक व्यक्तिको ज्यान गएपछि हाल बन्द रहेको र भ्यानमा सवार दुई चार घण्टा भेडेटारमा बसेर फर्कदा भन्सार बन्द हुने भएपछि अत्याधिक गतिमा सवारी साधन चलाइएकोले दुर्घटना भएको एसपी अधिकारीले जानकारी दिनुभयो ।

