जल तथा मौसम विज्ञान विभागले पूर्वी नेपालका नागरिकलाई सतर्क रहन अपिल गरेको छ । विभागको बाढी पूर्वानुमान शाखाले देशको मध्य र पूर्वी भागका नागरिकलाई सतर्क रहन भनेको हो ।
देशको पूर्वी तथा मध्य भूभागमा मध्यमदेखि भारी वर्षा हुने र ठूला नदी तथा खोलानालामा पानीको बहाव खतराको तहभन्दा माथि पुग्ने सम्भावना रहेको भन्दै शाखाले सतर्क रहन अपिल गरेको हो ।
बुधबारदेखि भने मनसुन केही कमजोर हुने बताइएको छ ।
झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, इलाम, ताप्लेजुङ, धनकुटा, ओखलढुङ्गा, दोलखा, सोखुखुम्बु लगायतका तराई, पहाड र हिमाली जिल्लाका खोलानालामा पानीको बहाव खतराभन्दा माथि पुग्ने अनुमान छ ।
महाशाखाले बिहीबारसम्ममा उच्च हिमाली, पहाडी र तराईका जिल्लाहरूमा कुनै पनि बेला नदीमा पानीको बहाव खतरा तहभन्दा माथि पुग्नेसक्ने भन्दै सतर्क रहन अपिल गरेको छ ।

