दिएर नथाक्ने दयालु रुख

दयालु रुख, त्यो रुखले केबल दिन जानेको छ । एउटा सानो बालकलाई ठूलो भएसम्म खुशी बनाउने प्रयत्नमा लागिरहन्छ। उमेरसँगै फेरिँदै गएको उसको मागलाई पुरा गर्न आफैंलाई रित्याइरहन्छ ।
आकांक्षा कार्कीले निर्माण गरेको कौशी नाटकघरमा नाटक ‘दयालु रुख’ मञ्चन भइरहेको छ । अमेरिकी लेखक सिल सिल्भरस्टेनको बाल कथामा आधारित नाटक ‘द गिभिङ ट्री’ लाई भावानुवाद गरी कार्कीले नै नाटकलाई परिकल्पना एवं निर्देशन गरेकी छन् । कथामा दिएर नथाक्ने रुख र मान्छेको सम्बन्ध देख्न सकिन्छ ।
नाटक हेर्दा जति सामान्य छ, बुझाईमा त्यति नै गहिरो छ । दयालु रुखलाई मानवसँग तुलना गर्दा रुखले सांकेतिक रूपमा आमाको
अवतारलाई बुझाउँछ र बालक उनको सन्तानको ।
आमाले आफ्नो सन्तानको लालनपालनको लागि बेहोर्ने भूमिका र परिपक्कतालाई बुझाउँछ । त्यस्तै, बालकले अभिभावकसँग सन्तानले गर्ने अपेक्षालाई बताउँछ । कथालाई प्रकृति र मानवसँग तुलना गर्ने हो भने मानव स्वभावको तीतोपना देख्न सकिन्छ ।
कविता र गीतसहितको सांगीतिक प्रयोगले नाटक अझैं जीवन्त बनेको छ । नाटकमा इंगिहोपो कोइँच सुनुवा, सुम्निमा साम्पाङ, अर्चना पन्थी, रोशनी स्याङ्बो, प्रयास राई, सलमान खान गुरुङ, आलोक थामी, आयान खड्का लगायतले अभिनय
गरेका छन् ।
नाटक असार २४ गतेसम्म मञ्चन हुनेछ ।

तपाईको प्रतिक्रिया