धरान÷भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा आजभन्दा चार बर्ष अगाडि संयुक्त राष्ट्र संघले जुन २१ तारेखलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने घोषणा
गरेपछि योगले यतिबेला संसारैभरि व्यापकता पाएको छ ।
आध्यात्मिकतासँग जोडिएको विश्व योग दिवस नेपालमा पनि विभिन्न ध्यान केन्द्र, संघ संस्थाहरुले एक हप्ता भन्दा लामो समयसम्म योगका विविध विधालाई प्रस्तुत गर्दै मनाएका छन् । पूर्वाञ्चलको धरान, विराटनगर, इटहरी, विर्तामोड, दमक, भद्रपुर, काँकडभिट्टा, धनकुटा, धुलाबारी, इनरुवा आदि स्थानमा पतञ्जली योग समिति, महिला पतञ्जली योग समिति, आर्ट अफ लिभिङ्ग, ओसो योग शिविरले चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सुविधा सम्पन्न सहरी क्षेत्रमा मात्र नभएर मनाङ, मुस्ताङ सम्मका स्थानहरुमा समेत शिविरहरु सञ्चालन भएका थिए । मनाङको मुक्तिनाथ क्षेत्रमा यसपटक पहिलो पटक योगले व्यापकता पाएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ मन्दिर दर्शनपश्चात त्यस ठाउँमा योगले मात्र प्राथमिकता पाएन भारतीय पर्यटकहरुँगै अन्य देशका पर्यटकहरुको समेत उल्लेख्य मात्रामा बृद्धि भएको छ । नेपालस्थित भारतीय राजदुतावासले योग दिवसका अवसरमा विभिन्न स्कुल, कलेज, सामाजिक संघ संस्थाहरुको सहकार्यमा योग दिवस सम्पन्न गरेको थियो । नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह
पुरीसमेत आर्ट अफ लिभिङ्गको आयोजनामा पशुपतिनाथ मन्दिरको बागमति किनारमा आयोजित योग शिविरमा सहभागी हुनु भएको थियो ।
