प्रदेश नं. १ स्तरीय इटहरी सांस्कृतिक महोत्सवमा गर्जिए कविहरु

इटहरी÷शनिवार इटहरीको दुर्गा पार्टी प्यालेसमा प्रदेश नं. १ का मुर्धन्य कविहरुले जब विविध शिर्षकमा लेखिएका कविताहरु वाचन गर्न थाले खचाखच रहेका श्रोताहरुका हात ताली पिट्न उठेका उठ्यै भए । निर्धारित समय भन्दा झण्डै डेढ घण्टा ढिलो गरी शुरु गरिएको प्रतिष्पर्धात्मक कविता गोष्ठी चार घण्टा चले पनि श्रोताहरु आफ्नो ठाउँबाट टसमस भएनन् ।
प्रदेश नं. १ का दिग्गज कविहरुलाई एकै ठाउँमा उभ्याउने अवसर भने इटहरी उपमहानगरपालिकाले प्रदान गरेको थियो । प्रदेश नं १ का हिमालदेखि पहाडका कुना कन्दरा र तराईका समथर फाँटसम्मका जातजातिबीचको मौलिकताको उजागर र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले इटहरी उपमहानगरपालिकको आयोजना र सृष्टा समन्वय समिति, इटहरीको संयोजनमा प्रदेश नं. १ स्तरीय प्रतिष्पर्धात्मक कविता गोष्ठी सम्पन्न भएको हो । त्यसभन्दा अगाडि प्रदेश नं. १ स्तरीय नृत्य, संगीत, नाटक र विचार गोष्ठीहरु सम्पन्न भएका
थिए ।
जेठ २२ र २३ गते गोरे गुरुङ्ग र स्वजन रघुवंशीद्वारा डान्स प्रशिक्षण, अतिथि स्रष्टा स्वागत तथा सम्मान, अभि सुवेदीको प्रमुख आतिथ्यमा
रंगमञ्चको अवस्था र समानता विषयमा अन्तरक्रिया, संगीत प्रशिक्षण, संस्कृति, कला र संगीत विषयमा डा. भक्त राईद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रदेश नं. १ का झण्डै पाँच दर्जन कविहरु प्रतिष्पर्धामा उत्रिएपनि छनौट समितिले अन्तिम प्रतिष्पर्धामा १० जना कविहरुलाई छानेको थियो । गोला प्रथाद्वारा वाचनको समय निर्धारण गरिएको प्रतिष्पर्धात्मक कविता गोष्ठीमा सुनसरीका किरण शिवाको फूलमतिको देशले प्रथम स्थान हासिल गरेको थियो । साहित्यकार एवम् लेखक ओखलढुंगा सेर्नाका भरतमणि भट्टराईको प्रदेशीलाई प्रियतमको पत्र दोस्रो भएको थियो भने विजय तामाङ्ग र सकुन्तला मञ्जरीले क्रमश तेस्रो स्थान र सान्त्वना पुरस्कार हात पारेका थिए । प्रथम हुने शिवालाई नगद २५ हजार, दोस्रो हुने सेर्नालीलाई नगद २० हजार, तेस्रो हुने तामाङ्गलाई नगद १५ हजार र सकुन्तर्ला
मन्जरीलाई सान्त्वना पुरस्कारवापत १० हजार प्रदान गरिएको थियो ।
समापन कार्यक्रमको शुभारम्भ इटहरी उपमहानगरपालिकाका प्रमख द्वारिकालाल चौधरीले मादल बजाएर गर्नुभएको थियो भने श्रष्टा समन्वय समितिका तर्फबाट अध्यक्षता
गरिरहनु भएका प्रा.डा बद्री विशाल पोखेल, सुदिप केसी, कार्याक्रमको औचत्यमाथि इटहरी वडा नं. ४ का वडाअध्यक्ष चन्द्र भट्टराईले प्रकाश पार्नुभएको थियो । प्रा.डा. गोपाल भण्डारीको पाँच सदस्यीय निर्णायक समितिले श्रष्टाहरुले वाचन गरेको प्रतिष्पर्धात्मक कविताको निश्चित मापदण्ड बनाएर प्रथम, द्वितीय र तृतीय सँगै सान्त्वना पुरस्कार प्रदान गर्ने सिफारिस गरेको थियो भने कार्यक्रमको सञ्चालन कवि एवम् पत्रकार कृष्ण अधिकारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया