बिराटनगर ÷ हिन्दु धर्मगुरु श्रीनिवासाचार्य पक्राउ परेका छन् । आफैलाई गोली हान्न लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।
गत चैत २५ गते राति मोरङको बिराटनगरमा उनीमाथि गोली प्रहार भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँबाट पक्राउ गरेको हो । प्रहरी अनुसन्धानबाट देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको बताइएको छ । प्रहरीले पनि उक्त कुरा श्रीनिवासाचार्यले स्वीकार गरेको बताएको छ ।
‘धर्म र देशको रक्षाका लागि यस्तो गर्नुपरेको हो, केही गर्दा पनि हिन्दु राज्य बनाउन नसकिएपछि जनता र हिन्दु धर्म गुरुहरुलाई उक्साउन मेरै योजनामा आफैँलाई गोली हान्न लगाएको हुँ भन्नुभयो,’ एसपी बिसीले भने । श्रीनिवासाचार्यकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ ।
श्रीनिवासाचार्यकै योजनामा चितवनको भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरीले करिब पाँच मिटरको दुरीबाट पाखुरामा लाग्ने गरी गोली हानेका थिए । उक्त कुरा चौधरीले पनि स्विकार
गरेका छन् । नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र लक्ष्मीराज अधिकारीले पेस्तोल उपलब्ध गराएका थिए । अधिकारीले पनि प्रहरीसँगको बयानमा आफैँले पेस्तोल उपलब्ध गराएको बताएका छन् ।

