इनरुवा ÷ सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा कलिला बालबालिका श्रममा लगाएको पाइएको छ । इनरुवालाई स्मार्ट बनाउने अभियान अन्तर्गत इनरुवा नगरपालिका क्षेत्रमा केहि महिना यता बाटो निर्माणको क्रममा स्कुल पढ्ने बालबालिकालाई श्रममा लगाएको पाइएको हो । मुलुकमा दुई दशकपछि सम्पन्न स्थानीय तह निर्वाचन मार्फत निर्वा्चित यहाँका जनप्रतिनिधिहरुले चुनावमा गरेको प्रतिबद्धता अनुसार विकास निर्माणको जिम्मा दिएका ठेकेदारहरुले ८ देखि १४ वर्षका कलिला उमेरका बालबालिकालाई बालश्रममा लगाएका हुन ।
सुनसरी सहित नेपाल भरिनै बालअधिकारको पक्षमा काम गर्ने थुप्रै एन.जी.यो. र आइ.एन.जी.यो.को संख्या दिन प्रतिदिन बढिरहेको छ । तर बालश्रम शोषणलाई न्युनिकरण गर्न सकिएको छैन । बाल अधिकारको उल्लंघन गर्दै चौतर्फी रुपमा बालश्रम शोषण हुँदा समेत यसलाई रोक्नका लागि सम्बन्धित निकायले चासो दिएका छैनन् । सम्बन्धित निकायको उदासिनताका कारण
सुनसरीमा मात्र सयौंको संख्यामा बालबालिकाहरु माथि श्रम शोषण भैरहेको छ । बालबालिकाहरु गरीबीका कारण श्रम गर्न बाध्य हुने कुरा यथार्थ भएपनि बालकले सक्ने भन्दा बढी काममा लगाएर यहाँका ठेकेदार देखि लिएर ठुला तथा साना होटेल संचालकहरुले अमानवीय व्यवहार गरिरहेका छन् ।
बालबालिकाहरुलाई ठुलो मान्छे सरह काम गराउने तर एकदमै न्युन पारिश्रमिक दिने तथा कसैलाई नदिने गरिएका घटनाहरु थुप्रै भेटिन्छन् । नेपालमा १४ वर्ष मूनिका बालबालिकालाई श्रममा लगाउनु कानुनी अपराध भएपनि त्यस्ता बालबालिकालाई श्रममा लगाउने गरेका छन् । सुनसरीको इनरुवा ,इटहरी,झुम्का, लौकही, भाणटावारी सहितको मुख्य बजारका ठुला देखि साना होटल, चिया पसल लगायत अन्य व्यापारिक स्थानहरुमा ८ वर्ष देखि १४ वर्ष उमेरकै बालकबालिकाहरुको खुलेआम रुपले श्रमशोषण गरिरहेको देखिन्छ । सुनसरीमा गरिबीका कारण बालश्रमिकको संख्या बढदो छ ।गरीबीको रेखामूनि बाँच्नुपर्ने बाध्यताले बालबालिकालाई जीवनको प्रारम्भिक अवस्थादेखि नै बाँच्नका लागि कडा परिश्रम गर्नुपर्ने बाध्यता रहेको छ ।

