धरान÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संसदीय दलका उप नेता विजयकुमार गच्छदारले काँग्रेस कमजोर भएमा लोकतन्त्र नै कमजोर हुने भएकोले काँग्रेस मजबुत हुन आवश्यक रहेको बताउनुभएको छ ।
पूर्वमन्त्री समेत रहनु भएका गच्छदारले उक्त कुरा नेपाली काँग्रेस १ नं. प्रदेश क्षेत्रीय कार्यसमितिद्वारा आयोजित सुनसरीका प्रदेश सदस्य र संघीय संसदहरुको सम्मान कार्यक्रमलाई धरानमा सम्बोधन गर्दै बताउनु भएको हो ।
उहाँले भन्नुभयो १० बर्षमा नेपाली काँग्रेसको संगठन क्षतिविक्षत भएको रहेछ । गुट उपगुट झाँगिएका रहेछन् । अब काँग्रेसलाई म पुरानै सांगठनिक स्वरुपमा ल्याउँछु । संगठन कसरी गर्नुपर्छ भन्ने कुरा आफूलाई राम्रोसँग थाहा भएको उहाँले बताउनुभयो । संगठन बनाउन दिन जान्नुपर्छ तर साथीहरु सबै कुरा आफूसँग राख्ने र अरुलाई केही नदिने गर्छन् । उहाँले विगतको नेपाली काँग्रेसको संगठनको चर्चा गर्दै भन्नुभयो धरान पहिल्यैदेखि कम्युनिस्टहरुको प्रभाव क्षेत्र हो । यहाँ काग्रेसको संगठन नै थिएन । मञ्चमा बसेका मिन बिकतर्फ देखाउँदै कम्युनिस्हरुका कार्यकर्ता खोसेर संगठन बनाएँ । एकै पटक नगर पालिकाको उपप्रमुखमा टिकट दिलाएँ । आज उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य पनि छन् र वाणिज्य मन्त्री समेत भइसकेका छन् । आज धरानमा नेपाली काँग्रेस कम्युनिस्टहरुसँग प्रतिष्पर्धा गर्ने अवस्थामा
रहेको पनि उहाँले चर्चा गर्नुभयो । सो अवसरमा नेपाली काँग्रेसकी संघीय सांसद मीना सुब्बा, सीताराम मेहता, मिन विक, प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, नवोदिता चौधरी, राजीव कोइराला, अगमलाल चौधरी लगायतलाई सम्मान गरिएको थियो ।
नेपाली काँग्रेसका क्षेत्रीय कावा सभापति धनबहादुर कटुवालको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा सम्मानित सबै सांसद, जिल्ला सचिव सुजेन्द्र तामाङ्ग, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सागर प्रसाई लगायतले पनि नेपाली काँग्रेसलाई सशक्त र जुझारु बनाउन गुटउपगुटको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव मुरारी भट्टराईले गर्नुभएको थियो ।

