धरान÷ सधै चुलो र चौकामा व्यस्त रहने महिलालाई चुलो चौकाबाट बाहिर निकाली उनीहरुको वृत्ति विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं. १४ ले महिला लक्षित स्वरोजगार कार्यक्रमलाई अगाडि बढाएको छ ।
धरान वडा नं. १४ ले महिलालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउनका लागि महिला लक्षित कार्यक्रम अन्तर्गत बजेट तर्जुमा गरी अहिले धरान १४ का महिलालाई सिलाई बुनाई र च्याउ खेतिको तालिम दिन थालेको हो ।
यी दुई शीर्षकमा धरान १४ ले १ लाख ४५ हजार बजेट छुट्याई काम समेत थालिसकेको छ । सिलाई बुनाई तालिममा अहिले २० जना महिला र च्याउ खेतिमा ३० जना महिला तालिममा सहभागी छन् । फुर्सदको समयमा तालिम लिन पाएकोमा महिलाहरु पनि दंग छन् । धरान १४ मण्डला भवनमा भेला सामुहिक रुपमा यसरी सीप सिक्न पाउदा महिलाहरु दंग हुन गरेको सीपमुलक तालिमकी प्रशिक्षक कोपिला भट्टराई बताउनुहुन्छ । व्यर्थको समय अर्थात विहान ११ देखि दिउसो ३ बजे महिलाहरुले च्याउ खेति र सिलाइ बुनाइ तालिममै समय दिने गरेका छन् । महिला लक्षित सीपमुलक कार्यक्रम अन्तर्गत सिकाइएको यो तालिमबाट १४ नं. वडाका महिलाहरुले भरपुर फाइदा लिएको प्रशिक्षक कोपिला भट्टराई बताउनुहन्छ । यो सीप पश्चात उनीहरुलाई आत्मनिर्भर हुन मद्धत पुग्ने उहाको भनाई छ । तालिममा उनीहरुलाई कुर्ता सुरुवाल, बच्चाहरुको भोटो, जामा, नेपकिङ्ग लगायतका कपडा सिलाउन सिकाइने अर्की प्रशिक्षक गंगा पौडेलले बताउनुभयो ।
तालिमका लागि मण्डला भवनमा ८ वटा सिलाई मेसिन राखिएका छन् । वडा समितिको कार्यालयले ५३ हजार ६ सयमा तीनवटा सिलाई मेसिन उपलब्ध गराएपछि हौसिएका यहाका महिलाहरुले आफ्नै लगानीमा अहिले ५ वटा मेसिन समेत थपेका छन् ।
महिलाहरुको सक्रियता देखेर महिलामात्र उत्साहित भएका छैनन् अहिले पुरुषहरु पनि तालिममा सहभागी हुन थालेका छन् । धरान १४ पिण्डेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थी श्याम लम्सालले पढाइको समयलाई सदुपयोग गर्दै आफूलाई आवश्यक पर्ने सिलाईको तालिम सिक्न थालेको बताउनुहुन्छ ।
समाजमा महिलाको भूमिकालाई अझ प्रभावकारी बनाउन महिला लक्षित कार्यक्रमलाई अगाडि बढाइएको धरान उपमहानगर पालिका वडा नं. १४ का वडाध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो । उहाले अहिले च्याउ खेतिमा ३० र सिलाई कटाईमा २० गरी ५० जना महिलालाई तालिम दिइरहेको बताउनुभयो ।
उहाले वडाका बजेट र स्थानीय जनताको सहयोगमा दुईवटै तालिम सञ्चालन भइरहेको बताउनुभयो । महिलाले सिकेको सिपबाट आत्मनिर्भर बन्दै आयआर्जन गर्न सकुन भन्ने उद्देश्यल नै महिला लक्षित कार्यक्रमलाई अगाडि बढाएको वडा अध्यक्ष
भट्टराईको भनाई छ ।
वडा समितिले निःशसुल्क तालिम त दिएकै छ यसबाहेक पनि यी महिलाहरुलाई पारिश्रमिक समेत दिने
गरेको छ भने समय समयमा सिलाइका लागि चाहिने कपडा समेत उपलब्ध
गराउने गरेको छ । तालिम अवधिभर महिलाहरुले सिलाइएको यस्ता कपडाहरु
गरिब दुखीलाई प्रदान गरिदै आएको वडा अध्यक्ष भट्टराईले बताउनुभयो । २० वडा भएको धरान उपमहानगरपालिकाको वडा नं. १४ विजयपुर अहिले उदाहरणीय वडा बन्न सफल भएको छ । भविष्यमा दलित, जनजाति, अल्पसंख्यक, अपांग असहाय लक्षित कार्यक्रमलाई समेत बजेटमै राखेर काम गर्ने योजना समेत यो वडाले राखेको छ । यस्ता कार्यक्रमको अनुसरण धरान उपमहानगरपालिकाका अन्य वडालेमात्र हैन देशका अन्य स्थानीय तहले समेत अनुशरण गर्न सके महिलाहरुलाई समाजमा आत्मनिर्भर बनाउन धेरै सहयोग मिल्नेमा दुई मत छैन । यसतर्फ अरुको पनि ध्यान जाने हो कि ?

