बीपीमा क्यान्सर उपचार थप प्रभावकारी बन्दै

धरान । पछिल्लो समय क्यान्सर रोगीको संख्या बढ्दै गइरहेका बेला पूर्वी नेपालमै उपचार सेवा विस्तार हुँदै जानु सकारात्मक संकेतका रूपमा देखिएको छ । विगतमा क्यान्सरको उपचार मुख्यतः भरतपुर क्यान्सर अस्पतालमा सीमित रहेको अवस्थामा अहिले कोशी प्रदेशका विभिन्न अस्पतालहरूले पनि सेवा दिन थालेका छन् । यसैक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले क्यान्सर रोगको सहज र गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ । प्रतिष्ठानले पछिल्लो समय फैलिएका भ्रम र अफवाहहरू निहित स्वार्थबाट प्रेरित भएको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको छ । प्रतिष्ठानका अनुसार स्थापना कालदेखि नै करिब तीन दशकदेखि क्यान्सर बिरामीलाई निरन्तर सेवा प्रदान गर्दै आइएको छ । पूर्वी नेपालमै क्यान्सरसम्बन्धी शल्यक्रिया सुरु गर्ने पहिलो संस्थाका रूपमा चिनिएको प्रतिष्ठानमा हाल शल्यक्रिया र सिस्टेमिक थेरापी (किमोथेरापी, हर्मोनल तथा टार्गेट थेरापी) प्रभावकारी रूपमा सञ्चालनमा छन् । क्यान्सर रोग विशेषज्ञ डा. सोनिया दुलालले बीपीमा हुने क्यान्सार रोगको उपचार सेवा प्रभावकारी र गुणस्तरीय रहेको दाबी गर्नुभयो ।

धरानमा उपचार सेवा उपलब्ध भएसँगै टाढा जानुपर्ने बाध्यता कम भएको बिरामीहरू बताउँछन् । धनकुटाका हेमकुमार लिम्बुले घर नजिकै सुलभ र भरपर्दो उपचार पाउँदा धेरै राहत मिलेको बताउनुभयो । त्यस्तै बराहक्षेत्रकी जमुना थापाले प्रतिष्ठानको सेवा र व्यवहारले आफूलाई नयाँ जीवनको आशा दिएको बताउनुभयो । प्रतिष्ठानका प्रवक्ता प्रा.डा शमशेर श्रेष्ठले भ्रामक प्रचारप्रति ध्यानाकर्षण गराउँदै भ्रामक प्रचार निहित स्वार्थको पछाडि नलाग्न आग्रह गर्नुभयो । उहाँले बीपीमा तीन दशकदेखि निरन्तर गुणस्तरीय सेवा दिइरहेका बताउनुभयो । प्रतिष्ठानमा आर्थिक वर्ष २०८१÷०८२ मा प्रतिष्ठानले उल्लेखनीय सेवा दिएको जनाएको छ । जसमा ३१७ जना क्यान्सर बिरामीको शल्यक्रिया, २ हजार ७ सय २८ बहिरङ्ग (ओपीडी) सेवा, ९ सय २२ अन्तरङ्ग सिस्टेमिक थेरापी सेवा प्रदान गसिकेको छ । यी तथ्यांकहरूले सेवा विस्तारसँगै गुणस्तरमा समेत सुधार भएको पुष्टि गर्ने प्रतिष्ठानको दाबी छ । उपचारलाई अझ प्रभावकारी बनाउन प्रतिष्ठानले निकट भविष्यमा रेडियोथेरापी सेवा सुरु गर्ने तयारी गरिरहेको छ, जसले क्यान्सर उपचारलाई थप पूर्ण र सुलभ बनाउने अपेक्षा गरिएको
छ । प्रतिष्ठानमा हाल उपलब्ध प्रमुख सेवाहरुमा क्यान्सर स्क्रिनिङ, सिस्टेमिक थेरापी, हर्मोनल थेरापी, टार्गेट थेरापी र क्यान्सर शल्यक्रिया रहेका छन् ।
पूर्वी नेपालको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा स्थापित बीपी प्रतिष्ठानले क्यान्सर उपचारलाई स्थानीय स्तरमै सहज बनाउँदै बिरामीको जीवनमा आशा जगाउने काम गरिरहेको छ । प्रतिष्ठानको यो कामप्रति सेवाग्राहीहरु समेत आशावादी बन्दै क्यान्सर रोग न्यूनिकरणमा प्रतिष्ठानको कामप्रति खुलेर प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया