बुढासुब्बामा जोखाना हेर्ने सर्वसाधारणको संख्यामा बृद्धि हुदै

धरान । एक्काइसौ शताब्दीमा पनि भविष्यवाणीप्रति सर्वसाधारणको विश्वास उत्तिकै छ । कुनै ज्योतिषीकोमा गएर चिना, हात हेराउनेदेखि मठ मन्दिरमा गएर पूजारीसँग भविष्यको विषयमा जानकारी लिने जस्ता कुराहरुप्रति अहिले पनि सर्वसाधारण विश्वास गर्छन् । यस्तै धरान १४ विजयपुरमा रहैका बुढासुब्बा मन्दिरमा समेत भविष्यवाणी हेराउनेको सख्या उत्तिकै रहेको पाइएको छ । धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिर नेपालमै एक मात्र मन्दिर हो । यहाँ भक्तजनहरु बुढासुब्बा तथा गौरेनी माताको दर्शनमा नेपाल लगायत भारतबाट समेत आउने गर्छन् । यहाँ अन्य ठाउँम दूध, फलफूल जस्ता कुराहरु चढाउने गरिए पनि बुढासुब्बा मन्दिर एक मात्र मन्दिर हो जहाँ रक्सी समेत चढाउने प्रचलन छ । यहाँ दर्शनमात्र गर्नेदेखि लिएर भाकल गर्नैहरु कुखुराको भाले तथा पोथी भोग दिन आउने गर्छन् । बुढासुब्बालाई भाले चढाउने र गौरेनी मातालाई पोथी चढाउने प्रचलन भए पनि पोथी नभएको अवस्थामा गौरेनी मातालाई अण्डा समेत चढाउने गरिन्छ ।

बलिदिइसकेपछि भालेको कलेजोबाट पूजारीले भविष्यवाणी हेर्ने गर्छन् । परिवारमा संकट आएको छ वा छैन भन्ने कुरा जोखनाबाट हेर्ने गरिएको छ । यहाँ बलि चढाउनेहरु अधिकांशले जोखना हेराउने प्रचलन छ । बुढासुब्बा मन्दिरका मुख्य पूजारी अशोक आले मगरले जोखनाबाट घरपरिवारबाट संकट आएको, दुख विमार भएको, दशाग्रह लागेको, दशाग्रह कसरी पन्छाउने जोखाना हेर्नेले जोखना देखाउने व्यक्तिलाई भनिदिने र हेरिदिने गरिएको बताउनुभयो । उहाँले आफूहरु धामी झाक्री नभएको तर बुढासुब्बा भगवानको प्रत्यक्ष दर्शनबाट जोखाना हेरिदिने गरेको बताउनुभयो । उहाँले भक्तजनमाथि परेको संकटसँगै यसको निवारणसम्बन्धी विधि बताइदिने गरेको बताउनुभयो । बुढासुब्बा मन्दिरमा जोखाना हेराउदै गरेका इटहरी उपमहानगरपालिकाका राजन राईले प्राय ः आफूले भाले ल्याएर चढाएको बेला जोखाना हेर्ने गरेको बताउनुभयो । उहाँले पटक पटक जोखना हेराएको र हेराएको कुरा पुगेकोले विश्वास लागेको बताउनुभयो । जोखनाबाट धेरै सर्वसाधारण विश्वस्त रहने गरेको पाइएको छ । यहाँ दैनिक २ सय भन्दा बढी भाले, पोथी वा अण्डा भाकलमार्फत चढाउन आउने गरेका छन् । यसमध्ये ५० प्रतिशत अर्थात आधा भक्तजनले जोखाना देखाउने गरेका छन् । विश्वासकै आधारमा देखाइदै आएको जोखनाप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको पूजारीहरु बताउँछन् । विश्वास बढेकै कारण कहिलेकाही जोखना हेर्न समेत धौ धौ पर्ने गरेको पूजारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया