सुनसरी । भारतको जम्बुकास्मिरको पहलगाममा गत हप्ता भएको पाकिस्तानी आतंकवादी हमला पश्चात सुनसरीका सीमा नाकाहरुमा अवान्छित गतिविधि नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सुनसरीले उच्च शतर्कता अपनाएको छ । पाकिस्तानी आतंककारीद्वारा २७ जना हिन्दु यात्रीको पासविक ढंगले हत्या गरेपछि भारत सरकारले भारतमा बस्दै आएका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छोड्न चेतावनी दिएको थियो ।
भारत छोडेर पाकिस्तान जानुको सट्टा नेपालको तराईका जिल्लाहरुलाई सेल्टरको रुपमा प्रयोग गर्ने आशंका बढिरहेको अवस्थामा जिल्ला प्रशासन कायालयले सीमावर्ती इलाकाहरुमा निगरानी बढाउनुको साथै नेपाल भारतका सुरक्षाकर्मीहरुले संयुक्त सीमा गस्ति बढाएका छन् । यसै सम्बन्धमा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो सीमा क्षेत्रमा ज्वाइन्टली पेट्रोलिङ्ग भइरहेको छ । सुनसरी जिल्ला भारतको विहार राज्यसँग ६९.९ किमी सीमा जोडिएको छ । भाण्टाबारीको तीनकुने मुख्य भन्सार नाका भए पनि दर्जनौ अन्य नाकाहरु रहेका छन् । प्रमुख जिल्ला अधिकारी मिश्रले भन्नुभयो अवान्छित गतिविधि नहोस् भनेर सुरक्षाकर्मीहरुलाई थप सक्रिय बनाइएको हो । यद्यपि तीनकुने घट्नाक्रमलाई जोडेर सुरक्षाकर्मीहरुलाई थप सक्रिय बनाइएकोचाहिँ होइन, मिश्रको कथन थियो ।