रोजगारी मेला प्रभावकारी बन्यो ः दुईसयले पाए रोजगारी

धरान । धरानमा सञ्चालन भएको दुई दिने रोजगार मेला प्रभावकारी बनेको छ । मेलाबाट ५ सय जनालाई रोजगार प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सो मेलामा २ सय भन्दा बढी युवाले रोजगारी पाएका छन् । धरानमा पहिलो पटक रोजगार मेला सम्पन्न भएको छ । रोजगारदाता र रोजगार खोज्नेबीचको समन्वय गरी रोजगार प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सो मेलाबाट २ सय ७ जना युवाहरुले रोजगारी पाएका छन् । रोजगारीका खोजीका लागि आउनु भएकी अञ्जना राईले आफ्नो दक्षताअनुसारको काम पाउने सम्भवना भएको अवस्थामा काम गर्ने बताउनुभयो । होटल कर्मचारीका रुपमा विगतमा समेत काम गर्दै आउनु भएकी राईले वेटरको कामको लागि आवेदन दिएको बताउनुभयो ।

मेलामा आउनेहरुले प्राविधिक कामदेखि लिएर होटलको कर्मचारी तथा व्युटि पार्लरमा काम गर्ने इच्छुक भएर निवेदन दिएका थिए । सौन्दर्य व्यवसायी संघ धरानकी अध्यक्ष सन्ध्या श्रेष्ठले काम गर्ने कर्मचारी आवश्यकता हुदाहुदै पनि कर्मचारी नआइरहेको बेला पार्लरमा काम गर्न सक्ने १२ जनाले कामका लागि निवेदन दिए पनि पाँच जनालाई छानेर काम दिइसकेको श्रेष्ठले बताउनुभयो । धरान उपमहानगरपालिकाको आयोजना, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्य तथा सुनसरी उद्योग वाणिज्य संघको सहयोगमा पहिलो पटक आयोजना गरेको रोजगार मेला प्रभावकारी बनेको धरान उपमहानगरपालिकाकी प्रशासन शाखाकी नायव सुब्बा तथा मेलाको सदस्य निर्मला बस्नेतले काम खोज्ने र रोजगारदाताको समन्वयमा २ सय ७ जना युवा पुस्ताले विभिन्न क्षेत्रमा काम पाएको बताउनुभयो । धरान ८ स्थित औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीव नारायण बन्जाडेले दिनप्रतिदिन युवा पुस्ता कामको खोजीमा विदेश जाने क्रम बढदै जाँदा उद्योगमा काम गर्ने जनशक्ति नपाइरहेको अवस्थामा यो मेलाले सहयोग पु¥याएको बताउनुभयो । मेलाले रोजगारदाता र रोजगारी खोज्नेबीचमा पुलको काम गरेको बताउनुभयो ।
मेला धरान १२ पब्लिक माविको खेल मैदानमा शुरु भएको हो । मेलाको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाचकर्ण राईले गर्नुभएको थियो । नितान्त नौलौ प्रकारको यो मेलाले रोजगादातालाई कर्मचारी पाप्त भएको छ भने कामको खोजीमा भौतारिरहेका युवा पुस्तालाई काम गर्ने अवसर मिलेको छ । यस्ता मेला नीजि क्षेत्रसँग समन्वय गरेर तीन तहका सरकारले गर्न सकेको खण्डमा नेपालमा उत्पादन भएको जनशक्ति विदेशिनबाट रोकिने सम्भावना बढेर गएको छ । यसतर्फ तीनै तहका सरकारले सोच्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया