विगत केही समयदेखि मुलुकमा राजसंस्था पुनस्र्थापनाको लागि शान्तिपूर्ण आन्दोलन चर्किरहेको अवस्थामा अब मुलुक बाहिरबाट समेत विदेशी सञ्चारमाध्यमहरुले आन्दोलन र नेपालको राजसंस्थाको अपरिहार्यताको सम्बन्धमा समर्थनमा समाचार सम्प्रेषण गर्न थालेका छन् । विगत ३५ बर्षदेखि दलका नाममा एउटै अनुहारका व्यक्तिहरुको सत्तामा हालीमुहाली हुुनु, नेपाली नागरिकको अवस्थामा कुनै परिवर्तन नहुनु, आफ्नै मुलुकलाई धिक्कार्दै आँशु झार्दै दैनिक हजारौ युवा जनशक्ति विदेश पलायन हुनु, रोजगारीको कुनै अवरसर नहुनु, भएका उद्योग धन्दा, कलकारखाना माफियालाई कौडीका मूल्यमा बेच्नु, सार्वजनिक सम्पत्ति दोहन गर्नु, भ्रष्टाचारमा निर्लिप्त हुनु, नेपाली जनताको जीवनस्तर बृद्धिका लागि दातृ निकायहरुले दिएको आर्थिक सहयोग लक्षित वर्गसम्म नपुग्नु, सार्वभौम सत्ता धितो राखेर मनपरि ढंगले ऋण लिएर अपचलन गर्नु, शान्ति तथा अमनचयनको अवस्था कहालीलाग्दो हुनुु लगायतका कारणले आम नागरिकले राजसंस्थाको अपरिहार्यर्ता रहेको निकर्षमा पुगेको देखिन्छ । नागरिकले दलीय नेतृत्वलाई सच्चिन पटक पटक चेतावनी दिए पनि म नै राज्य हुँ भन्ने दिग्भ्रम दलीय नेतृत्वलाई लागिरहयो । समयमै सडकमा उठेका आवाजलाई मनन गरी सच्चिएका भए सडकमा आन्तिम विकल्पका रुपमा नागरिक उत्रने थिएनन् । आज भन्दा १९ बर्ष अगाडि अत्यन्तै सहज ढंगबाट राजगद्धी छोडेर जनताको नासो जनतामै सुम्पिएर बहिर्गमन भएका राजा ज्ञानेन्द्र शाहले हरेक समय नेतृत्वलाई सच्चिएर जनताको पक्षमा काम गर्न आग्रह गर्दै पनि आएका थिए खासगरि प्रजातन्त्र दिवस, विभिन्न राष्ट्रिय चाडपर्व लगायतका समयमा उनले दलीय नेतृत्वलाई घच्घच्याएको कुरा कसैले विर्सनु हुँदैन । व्यवस्था परिवर्तनले दलीय नेतृत्वको अवस्था परिवर्तन भयो तर नागरिकको अवस्था झन झन विकराल र कहालीलाग्दो बन्दै गएको कसैबाट लुकेको छैन । यही कुरालाई ध्यानमा राख्दै राजा ज्ञानेन्द्र शाहले फागुन ७ गतेको प्रजातन्त्र दिवसका अवसरमा देशबासीका नाममा गरिएको सम्बोधनले स्वस्फूर्त रुपमा नागरिक सडकमा उत्रिएका छन् । पोखरा, बुटवल, धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित विशाल आमसभाहरु सम्पन्न भइसकेका छन् । यसैगरि जनकपुर, काठमाण्डौ, सुर्खेतमा आमसभाको तयारी भइरहेको छ । काठमाण्डौमा दैनिकजसो हजारौ युवा युवती, बृद्ध बृद्धा सहभागी नारा जुलुस आयोजना हुँदै आएका छन् । नारायणहिटी प्रवेश गरेर हजारौका समूहले श्रीपेज निकालेर राजालाई पहि¥याउने प्रयास समेत गरेको छ । सिंहदरबार छिरेर मन्त्रालयहरु घेर्ने धेरै प्रयास समेत गरिसकेको छ । फागनु ७ गते राजाको अभिव्यक्ति नीजि विचारमात्र नभएर देशको नागरिकको आवाज थियो त्यसमा कसैको दुई मत छैन । सत्तामा बसेका र सत्ताको निकट रहेकाहरुले लाभका कारण अनेकौ कुतर्क गरे पनि अब नागरिक जागिसकेका छन् । अब उनीहरुले आफ्नो विगत र आफ्नो वर्तमान हेरेर आफूलाई सुधार्नुको विकल्प छैन । जनता जागेका दिन उसको हविगत बंगलादेशको या श्रीलंकाको जस्तो हुने निश्चित छ । समय छँदै बुद्धिमतापूर्ण तरिकाले संवैधानिक राजसंस्थाको सम्मानजनक पुनस्र्थापनाा गरेर नागरिकको आक्रोसको घेराबाट बच्न सकिने कुरालाई हृदयमगन गर्नैपर्छ । सडकको आवाज अब प्रहरी प्रशासनको आडमा दबाउने कुचेष्टा गरिए त्यो घातक हुने निश्चिात छ । मुठ्ठीभरका १० जनाको लहडमा आन्दोलनलाई उग्र बनाउने कुचेष्टा गरे त्यसबाट निम्तिने परिणाम घातक हुन्छ । यतिबेला नेपालका दलहरुले उत्तरको र दक्षिणको छिमेकीको मात्र नभएर सात समुन्द्र पारिको विश्व शक्ति राष्ट्र अमेरिकाको समेत विश्वास गुमाइसकेका छन् । सत्ता जोगाउने नाममा राज्य शक्तिको दुरुपयोग गरि नागरिकको ज्यान गएमा त्यो भन्दा घातक क्षण अरु हुन सक्दैन ।