भ्रष्टाचारको जगमा स्थापित गणतन्त्र र भ्रष्टाचारी, ठगहरुका कारण देश यतिबेला आँधी आउनु अगाडिको सन्नाटाको अवस्थामा पुगेको छ । विगत तीन दशक भन्दा लामो समयदेखि पटक पटक एउटै अनुहारले सत्ताको रस्वावादन गर्ने, तिनै अनुहारका पछि लागेर रवाफ जमाउँदै आएकाहरुको अब दिन गन्ति शुरु भएको मुलुकका पछिल्ला घट्नाक्रमले प्रष्ट पार्दै लगेको छ । भ्रष्टाचारको जगमा स्थापित भएका राजनैतिक दलका नेताहरु आम सर्व।साधारणका अघिल्तिर यति घृणाका पात्र भएको शायदै यसभन्दा अगाडिका कुनै पनि नेपालको शासन व्यवस्थामा थिएन । राज्य शक्तिको आडमा ललिता निवास जग्गा प्रकरणका मतियारहरुले उन्मुक्ति पाउने, बालमन्दिरको अरोबौको जमिन हडप्ने, टिकापुर जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण, अकुत सुन तस्करी प्रकरण, वाइडवडी जहाज काण्ड, एनसेल प्रकरण जस्ता दर्जनौ प्रकरण सहतमा आएका प्रकरणमात्र हुन् । सतहमा नआएका सैयौ प्रकरणहरु रहेका छन् ।
सत्ता, शक्ति र सम्पत्तिको आडमा एउटा वर्ग र तिनका आसेपासे, नातेदार आज कुलीन वर्गमा दर्ज भएका छन् । यो वर्गको न व्यापार छ, न पुख्र्यौली सम्पत्ति थियो । अर्थात भ्रष्टाचारको जगमा यो वर्ग सम्भ्रान्त बन्न पुगेको छ । फलस्वरुप आम सर्वसाधारणमा चरम असन्तुष्टि देखिएको छ । जसका कारण
राजनैतिक नेतृत्व प्रति सामाजिक सञ्जालमा छाएका अभिव्यक्ति, शासन वर्गको कार्यक्रममा स्वस्फूर्त रुपमा गरिएका नाराबाजी, सडकमा दिनप्रतिदिन देखिन थालेको आन्दोलन, संसद भवन अगाडि असन्तुष्टि पक्षका स्वर दबाउन गरिएको राज्य शक्तिको चरम दुरुपयोग मुलुकको वर्तमान शासन व्यवस्था र नेतृत्वप्रतिको घृणाले कुनै पनि समय श्रीलंका, बंगलादेश वा अफगानस्थानको घट्नाक्रमको पूर्व संकेत गर्न थालेको छ । सहनुको एउटा सीमा र हद हुन्छ । एउटा सवारी साधनको लाइसेन्स प्रिन्ट गरेर दिन दुई बर्ष लाग्छ भन्ने अन्य वेथितिको कल्पना समेत गर्न सकिदैन । आफ्नो शासन सत्ता लम्ब्याउन युवाहरुलाई विदेसिन बाध्य पारिएको छ । दैनिक हजारौ युवा युवतीहरु अन्तर्राष्ट्रिय विमान स्थलमा आँशु बगाउँदै विदेशिन बाध्य छन् । थाहा छैन ऊ सकुशल फर्कन्छ या कफिनमा उसको मृत शरीर आइपुग्छ । आफ्ना सन्तानलाई विदाई गर्दा हजारौ बाबुआमाका आँखामा आशु महिनौसम्म थामिदैन । तर तिनै युवाहरुले पठाएको रेमिट्यान्समा सम्भ्रान्त, नवकुलीन शासक वर्ग ऐøयासी गर्छन् । नेपालमा गणतन्त्रको सबै भन्दा ठूलो उपलब्धी भनेको देशका युवाहरुको निर्यात हो । अन्य देशसँग श्रम सम्झौता गरी गरी युवाहरु राज्यले निर्यात गर्नु त्यस देशको अद्योगतिको यात्रा शुरु भएको संकेत हो । त्यसैले अब युवा, बृद्धबृद्धाहरु व्यवस्थाको विकल्प वा विरुद्धमा सडकमा उत्रिन थालेका छन् । कुनै पनि देशको समुन्नतिको आधार स्थापित गर्न १० या १५ बर्ष पर्याप्त हुन्छ । तर वर्तमान शासन व्यवस्था र यो शासन व्यवस्थामा महारथीहरुले ३५ बर्ष भन्दा बढी व्यथित गरिसकेका छन् । त्यसैले कुनै पनि समय डरलाग्दो ज्वारभाटा सडकमा देखिने निश्चित छ । नागरिकको धैर्यताको एउटा सीमा हुन्छ, हेक्का रहोस् ।