व्यवस्था र दलप्रति चौतर्फी आक्रोस

वर्तमान व्यवस्था र राजनैतिक दलहरुप्रति यतिबेला चौतर्फी आक्रोस देखिएको छ । वि.सं. २०४७ साल पछिका ३३ बर्ष र २०६२ साल पछिका १७ बर्ष नेपाल र नेपालीका लागि अभिषाप बाहेक केही हुन सकेन । वर्तमान राज्य व्यवस्थाले एउटा वर्गलाई कुलिन वर्गमा रुपान्तरण ग¥यो भने ९० प्रतिशत नेपालीको अवस्था जर्जर बनाएकै कारण आज चौतर्फी आक्रोस सडकमा आएर पोखिन थालेको छ ।
विगत ३३ बर्षदेखि दलका नेताहरुको नागरिक टाँट्ने प्रवृत्ति, लुट धन्दाको पराकाष्ठा, आफ्ना परिवारको व्यवस्थापन, आफ्ना झोलेहरुको व्यवस्थापनका लागि कथित संघीयता जन आक्रोसको मुख्य कडी हो । यसका अलावा राष्ट्र र राष्ट्रियता धितोमा राखेर महँगो व्याजदरमा ऋण लिएर मुलुकलाई ऋणको भारमा डुबाउने, दलीय आडमा गाँउ नै पिच्छे नव महाराजहरुको ज्यादति, गुण्डागर्दी, गरिखानेहरुको उठिबास लगाउने बढ्दो कु–संस्कारका विरुद्ध आज सडकमा देखिएको आक्रोस हो । छलकपट र ढाँटको आडमा १७ बर्ष अगाडि जनचाहना विपरीत कथित गणतन्त्रको घोषणा गरेर निरन्तर तिनै व्यक्ति, तिनै अनुहारले अनवरत सत्तामा बसेर आफ्नोमात्र अवस्था परिवर्तन गरेको परिणती हो आजको जन आक्रोस । विगतमा राजा महेन्द्र हुँदै वीरेन्द्र शाहले मुलुकको समृद्धिका लागि र राष्ट्र विकासको मेरुदण्डको रुपमा रहेका युवाहरुको विदेश पलायनलाई रोक्नका लागि दर्जनौ उद्योधन्दाहरु स्थापना गरे । आज ती सम्पूर्ण उद्योगधन्दाहरु ध्वस्त बनाइएका छन् । रघुपति जुटमिलले २० हजारलाई
रोजगारी दिएको थियो । सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, उदयपुरमा किसानहरु पाटाको खेति गर्थे । जनकपुर चुरोट कारखानाका उत्पान रसिया निर्यात हुन्थ्यो । कत्रो गौरवको कुरा थियो । त्यहाँका किसानले सुर्ति खेति गरेर आम्दानी गर्थे । बुटवल धागो उद्योगबाट उत्पादित धागो विदेश निर्यात हुन्थ्यो । हजारौ किसानले कपासको खेति गरेर आम्दानी गरेका थिए । गोरखकाली टायर एसियामै प्रख्यात थियो । विरगञ्ज चिनी कारखाना, हेटौडा कपडा उद्योग, बाँसबारी छाला जुत्ता कारखाना, हिमाल सिमेन्ट उद्योग, हेटौडा काठमाण्डौ रोपवे सबै धुलिसात बनाइयो । आज राज्यको अधिनमा एउटा उद्योग समेत छैन । यहाँभन्दा निकृष्ट व्यवस्थाका सञ्चालकहरुका विरुद्धमा जन आक्रोस देखिन स्वभाविक हो । यसलाई आम नागरिकले तेस्रो जनआन्दोलनका रुपमा हेरेका छन् । बर्षौसम्म एउटै व्यक्ति कार्यकारिणी रहँदा पनि आजको परिस्थिति सिर्जना भएको हो । आफनो र आफ्नो परिवारको व्यवस्थापनको सट्टा नागरिकहरुको जीवनस्तर उकास्न दलीय नेतृत्व लागिदिएको भए मुलुक समृद्ध बन्ने थियो, नागरिकहरु आफ्नो पेशा, व्यवसायमा लाग्ने थिए अनि लाखौ युवाहरुको पलायन रोकिने थियो । तर अब यही अवस्था र यिनै दलीय नेतृत्वबाट मुलुक अगाडि जानै सक्दैन ।

तपाईको प्रतिक्रिया