सत्ता केन्द्रित राजनैतिक दलका कारण मुलुकमा विकृति मौलाउ“दै

सत्ता केन्द्रित (सत्ता लिप्सा चरित्र) राजनैतिक दलका कारण मुलुकमा चरम विकृति मैलाएको छ । जसरी हुन्छ हरेक राजनैतिक दल सत्ताकै लागि जस्तोसुकै हरकत गर्न पनि पछि नपर्ने भएका छन् ।
भर्खरै जन्मिएको राजनैतिक नामधारी पार्टी जसको न कुनै उद्देश्य छ, कुनै लक्ष्य छ, न कुनै आदर्श छ, न कुनै सिद्धान्त छ उ पनि सत्तामा पुग्न आत्तुर छ । इतिहास बनाएका राजनैतिक दलहरुको त कुरै नगरौं । आफ्ना अग्रजले मुलुकमा सर्वोपरि हितका लागि प्रतिपादन गरेका आदर्श, सिद्धान्त, लक्ष्य सबैलाई तिलाञ्जली दिएर सत्ताकै लागि अपवित्र गठबन्धन गर्न कुनै संकोच मान्दैनन् ।
खासमा भन्ने हो भने नेपालका राजनैतिक दलका कुनै पनि नेता हुन वा तिनका कार्यकर्ता कोही कुनै मामलामा इमान्दार देखिएनन् । जब नेतृत्वमा इमान्दारिताको खडेरी हुन्छ मुलुककोको अद्योगति त्यहीबाट शुरु हुन्छ । विचारै नमिल्ने आफैले विगतमा आतंककारी घोषणा गरी मूल्यसम्म तोक्ने नेपाली काँग्रेस आज त्यही पार्टीसँग सत्ता साझेदारीमा दौडिएको छ । नेपाली काँग्रेसमात्र नभएर एक सिटे, दुई सिटे, १० सिटे कथित राजनीतिक दल समेत सत्ताकै लागि गठबन्धनमा घुस्रिएका छन् । यी कसैको पवित्र उद्देश्य मुलुक बनाउने नभएर मन्त्रीकै लागि केन्द्रित छ । हिजो एकले अर्कालाई
भरमार गाली गर्नेहरु आज पदकै लागि कुम मिलाएर हिडेका छन् । सर्वोच्च अदालतको आदेशले गृहमन्त्री र सांसदबाट विमुख भएकाहरु कहिले एउटा गठबन्धनमा जोडिन पुगेका छन्, कहिले अर्को गठबन्धनमा मिसिन पुगेका छन् । नेपालको राजनीति राजनीति नभएर लाजनीतिमा परिणत भएको छ ।
एउटा आम मानिसको विश्वास बोकेको नेपाली काँग्रेस त पछिल्लो समय एउटा नगरवधुको चरित्र देखाएको छ । वर्तमान अवस्थाका काँग्रेसका नेताहरु सत्ता बिना बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् । जसरी हुन्छ सत्तामा आफ्नो पकड हुनुपर्ने उसको एक सुत्रीय उद्देश्य देखिन्छ । सत्ताकै झिँगे दाउका लागि गठबन्धनबाट बाहिरिएको घटकलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर जग हसाएको थियो । आज उसको त्यो झिँगे दाउ साकार भएको छ । अब सत्तामा आफ्ना मन्त्रीहरु बनाउने भएको छ । उसले यसलाई सबैभन्दा ठूलो विजय मानेको छ । तर यथार्थ धरातल काँग्रेसको वर्तमान नेतृत्वले आंकलन गरेको भन्दा सर्वथा भिन्न रहेको छ । आम कार्यकर्ता यही कारण पलायन भइरहेका छन् । निस्कृय भइरहेका छन् । यसले भोलिका दिनमा काँग्रेसले यस्तो दुर्गति भोग्नुपर्ने हो त्यो स्पष्ट छ । अपवित्र गठबन्धन गरेर भएपनि, आयाराम गयाराम प्रवृत्तिका दिशाहीन अन्य दलका नेता सांसद खरिद गरेर भएपनि सत्ता आफ्नो पकडमा राख्ने, आफ्ना आफन्त आसेपासेहरुलाई नियुक्ति दिने, राज्यकोषबाट सबै आवश्यकता पूर्ति गर्न जुन सोचको विकास राजनैतिक दलमा भएको छ त्यो मुलुकका लागि डरलाग्दो संकेृत हो । बलियो पाखुरा भएका जनशक्ति निर्यात गरेर सत्तामा आशिनहरुबाट मुलुकले समृद्धि हासिल गर्न सक्दैन । उद्योग धन्दा, कलकारखाना कवाडीको मूल्यमा बेचेर कमशिन डकार्ने, उद्योग धन्दा कृषि क्षेत्रलाई वेवास्ता गर्ने तर सार्वभौम नेपाली जनताको नाममा (धरौटी राखेर ) अरबै ऋण लिन आतुर हुने नेतृत्व वास्तवमै अभिषाप बन्दै गएको छ । यससतर्फ नेपालका सचेत  नागरिकहरुले सोच्न आवश्यक भइसकेको छ । नत्र भोलि न्याउरी मारी पछुतोको अवस्था सिर्जना नहोला भन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया